इनरुवा । नेपाल भारतको सीमावर्ती जोगवनी बजार नजिकै बथनाहा स्थित मिरगञ्ज पुल जीर्ण भई बाटो बन्द भएको छ ।
मुख्य बाटो बन्द भएपछि बैकल्पिक मार्ग सञ्चालनका लागि पहल गर्न मोरङ व्यापार संघले सरकारलाई आग्रह गरेको छ ।
पुल जीर्ण भई बन्द हुँदा चार दिनदेखि सयौं मालवहाक ट्रकहरु मिरगञ्जदेखि बथनाहा र फारविसगञ्जमा रोकिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै भीमनगर–भन्टाबारी भन्सार नाकामार्फत सवारी साधन ल्याउन पहल गरिदिन आग्रह गरेको छ ।
संघले भारतको अररिया जिल्लाको अररिया–कुर्सा कांटा–जोगबनीमार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउन समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रेस विज्ञप्ति जारी गरी शीघ्र पूल मर्मत गरी एक लेन भएपनि सञ्चालनमा ल्याउन र त्यसो नहुँदासम्म भीमनगर–भाण्टाबारी नाकाबाट सवारी साधन आवतजावत गर्ने वातावरण बनाउन अपिल जारी गरेको हो । संघले नेपाल तथा भारतका सम्बन्धित निकाय दुवैलाई समस्या समाधानका लागि आग्रह गरेको हो ।
मिरगञ्ज पूल क्षतिग्रस्त हुँदा सुनसरी मोरङ औद्योगिक करिडोरका लागि आयात हुने कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधि आदि उतै रोकिएकोमा संघले चिन्ता जनाएको छ । लामो समय ट्रक रोकिदा आयातित वस्तुको लागत मूल्यसमेत बढ्न जानेमा पनि संघले चिन्ता जनाएको छ । पुलकै कारण दैनिक १५ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व गुमिरहेको र छिटो समस्या समाधान नभए उद्योगहरुमा कच्चा पदार्थ अभाव हुने तर्फ पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
Discussion about this post