इनरुवा । माघे संक्रान्ति नजिकिएसँगै सुनसरीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। संक्रान्तिलाई लक्षित गरी जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने बराहाक्षेत्र नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको किसानहरूलाई तरुल खन्न भ्याइनभ्याइ भएको हो ।
लामो समयदेखि बर्सेनि व्यावसायिक तरुल खेती गर्दै आएका बराहक्षेत्र नगरपालिका–५ का प्रेम मगरले माघे संक्रान्तिमा बिक्री गर्दा तरुलले राम्रो भाउ पाउने बताउछन् ।
गत वर्ष ३५ देखि ४० रुपैयाँ किलोमा बिक्री गरेको तरुल यसवर्ष ५० देखि ५५ रुपैयाँसम्ममा बिक्री गर्न पाएको उनको भनाइ छ ।
किसानहरूले उत्पादन गरेको तरुल लिन ठेकेदारहरू खेतबारीमै पुगेका छन्। लामो समयदेखि तरुल खेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का पुनितलाल मेहताले यस वर्ष १० कठ्ठा जमिनमा तरुल खेती गरेका छन्। उनले व्यापारीलाइ प्रतिकठ्ठा २५ हजारमा खेतबाटै बेचेका छन्। खर्च कटाएर प्रतिकठ्ठा १८ देखि २० हजार आम्दानी भएको बताए ।
माघे संक्रान्तिमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग गर्न लैजाने गरेको किसानहरू बताउछन् ।
तरुल खेती गर्दा जमिन हेरेर बिउ, खन, जोत, खाद मल र गोडमेल समेत गरेर ७ देखि १० हजार प्रतिकठ्ठा लगानी हुने किसानहरूको भनाइ छ भने यस सिजनमा प्रति कठ्ठा २८ देखि ३० हजार सम्म आम्दानी हुने किसानहरूको अपेक्षा छ ।
राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने गरेको छ। यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको किसानहरूले बताएका छन् ।
यस वर्ष बढी वर्षात भएका कारण तरुल उत्पादनमा कमी आउने किसानहरूले बताएका छन् । यहाँ उत्पादन भएको तरुल काठमाडौं, पोखरा, इटहरी, धरान, बिराटनगर, नारायणगढ, धनगढी, नेपालगंज लगायत देशका प्रमुख शहरहरूमा निर्यात हुने व्यापारी बताउँछन् ।
सुनसरीमा मात्र यस वर्ष २ सय ४३ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र सुनसरीका निमित्त प्रमुख धिरेन्द्र मिश्राले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सुनसरी जिल्लामा अनुमानित प्रत्येक वर्ष ५ सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको बताए ।
Discussion about this post