सन्तोष मेहता/विराटनगर।
मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको आशंका गरिएको छ । १२ दिनदेखि बेपत्ता भट्टराईको शव सडेर दुर्गन्धित बनेको अवस्थामा हिजो दिउँसो चारकोसे जंगलमा ढलीरहेको रुखको जराभित्र भेटिएको थियो । हत्या गरेपछि रुखको जराभित्र लगेर शव लुकाइएको हुनसक्ने प्रहरीको आशंका छ । खोर्साने–केराबारी सडक खण्डको आमजुङ्गी विश्वकर्मा मन्दिरदेखि झन्डै दुई किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएको हो । पुस २३ देखि २९ गतेसम्म लागेको मच्छिन्द्र मेला हेर्न भनेर गत पुस २७ गते भट्टराई घरबाट हिँडेको खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जानकारी दिए । अनुहार पनि नचिनिने गरी कुहिएका कारण सुरुमा प्रहरीले यकिन गर्न नसकेको र पछि आफन्त एवं परिवारका सदस्यले शवको पहिचान गरेको उनले बताए । मेला भर्न भनेर घरबाट हिँडेका उनी सम्पर्कविहीन बनेपछि परिवारका सदस्यले खोजीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए । उजुरी दिए पनि प्रहरीले खोजतलासमा चासो नदिएको र सडेर दुर्गन्धित भइसकेपछि शव भेटिएको गुनासो आफन्तको छ । घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै भट्टराईको हत्या भएको हो कि हैन भनेर यकिन हुने जनाएको छ । लामो समयदेखि बेपत्ता भएका युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोधसमेत गरे । प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता जनाएपछि स्थानीयले शव उठाउन दिएका थिए ।
Discussion about this post