सन्तोष मेहता/विराटनगर ।
राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा प्रदेश-१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा गठबन्धनबाट गोपालकुमार बस्नेत र जयन्ती राई हुनुहुन्छ । यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएको छ । गठबन्धनका उम्मेदवार गोपालबहादुर बस्नेत र एमालेका उमेदवार गुरु बरालले बराबरी मत प्राप्त गरेपछि गोला प्रणालीबाट निणर्य गरिएको थियो । दुबैले ४ हजार ४ सय ८८ मतभार प्राप्त गरेका हुन् । यस्तै गठबन्धतर्फकी जयन्ती राईले ४ हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका हुन् । यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा ४ हजार ७ सय ५२ मतभारसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मत भार प्राप्त गरेका हुन् । आज बिहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानिय तहका २ सय ७२ मध्ये २ सय ७० र ९२ जना प्रदेशसभा सदस्यमध्ये ९१ जनाले मतदान गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप-प्रमुख र प्रदेशसभाका सदस्य गरी कुल ३ सय ६४ मतदाता छन् । प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गणमा मतदान भएको थियो ।
Discussion about this post