प्रिय दिवाकर,
खै कसरी र के नामले सम्बोधन गरौँ तिमीलाई ? तिमी जस्तो प्रिय मान्छेलाई बिना सम्बोधन पनि अक्षरहरूमा उतार्न मन लागेन । त्यसैले यस पत्रमा मलाई तिमीजस्तै प्रिय लाग्ने सरस्वती प्रतीक्षाको ‘नथिया’ उपन्यासको एक पात्र प्रोफेसर “दिवाकर” नामले सम्बोधन गर्दैछु ।
प्रिय दिवाकर, खै कहाँबाट सुरु गरौँ, यो पत्र लेख्नलाई ? जब म पत्र लेख्न खोज्छु , तब प्रत्येक शब्द शब्दहरूका प्रेमिल भावहरू बनेर गलामा अड्किन्छन् । छाती चिरिन्छ, मुटु भक्कानिन्छ, अनायसै समुन्द्रको भेलसरी आँखाबाट अविरल अश्रुधाराहरु बग्न थाल्दछन् अनि पत्र लेख्ने कुनै शब्द पाउँदिन ।
डर लाग्छ, यो पत्र कतै हाम्रो प्रेम झैँ अधुरो हुने पो हो कि । लाग्छ, कतै यी पत्रहरूले रुनु पो पर्छ कि रु काश, यो कलम र अक्षरलाई पनि ख्याल आओस् कि केही पत्रहरूले याद गर्दैछन् भनेर । तर जब एकोहोरो तिम्रो यादमा हराईरहन्छु, तव स्वचालित यन्त्रझैं तिम्रो लागि केही न केही नलेखी रहन सक्दिन ।
अन्ततः सेता कागजका पानाहरूमा कलमको सहायताले मेरा यी कोमल हातहरू थर्थराउँदै पवित्र प्रेमको इस्तिहार लेख्न अगाडि बढ्छु ।
प्रिय दिवाकर, म पागल अझै हरेक बगानमा तिम्रा नाम लेख्न चाहन्छु, हरेक मौसममा तिमीलाई सिँगार्न चाहन्छु । पालैपालो चन्द्रमा र तारा उपनाम दिएर बोलाउन चाहन्छु, सागरका नुनिलो पानीमा सँगै डुबुल्की मार्न चाहन्छु । तर यी सबै अब यो जुनीमा सायदै सम्भव छ ।
तिमीले पराइको सिउँदो रंग्याएको दुई वर्ष बढी भयो । अब त म आफूले आफैँलाई तिम्रो हुने रहर पनि छैन । प्रिय दिवाकर, मन अझै पनि धेरै दुख्छ तर कोहीसँग होइन, आफ्नै भाग्यसँग, जहाँ तिमीलाई पाउन लेखिएकै थिएन ।
संसारमा जस्तोसुकै प्रविधि बने पनि भाग्यमा लेखेको चिज न त ‘डिलिट’ गर्न सकिने, न त ‘इडिट’ गर्न मिल्ने । अब त खास हामी एक अर्काका लागि बनेका होइन रहेछौँ भनेर चित्त बुझाउन थालेकी छु । तिमीलाई पनि आउँदै गरेको प्रेम दिवसको शुभकामना।।। ।
प्रिय दिवाकर, तिमीले त बिर्सियौ होला तर सधैँ जसो भन्ने गर्थ्यौ “हिउँ प्यारो लाग्छ, अब हिमालमा घर बनाउँछु ।” तर तिम्रो कोमल मन बिस्तारै त्यही हिउँ जस्तै चिसो भयो या चिसो बनायौ त्यो तिमीलाई नै थाहा छ । प्रिय, तिमी हिउँ मान्छे हौ ।
आज भोलि यो सहर पनि तिमीजस्तै चिसो भएको छ । बसी नसक्नुको जाडो छ, खपी नसक्नुको मौसम । मौसमको कुरा मात्रै होइन, यहाँ यस्तै हुन्छ । सबथोक चिसो, बस्ने घरहरू चिसा, बाटा र गल्ली चिसा, चोकहरू चिसा हुन्छन् । चोकमा भेटिने मान्छेहरू चिसा ।
संसारमा अहिले प्रेम दिवसको सप्ताह चलिरहेको छ । तर यता मनमा हिउँ मान्छे तिम्रो याद खड्किरहेको छ । प्रिय दिवाकर सक्छौ भने तिम्रा यादहरूबाट मुक्ति पाउने सप्ताह लगाइदेऊ न बिन्ती।।।।
किन जल्छ मन अचेल एकान्तमा धेरै ?
किन बल्छ मन अचेल एकान्तमा धेरै ?
न प्रेममा छु न भ्रममा छु खै कता कता
किन गल्छ मन अचेल एकान्तमा धेरै ?
यही मुक्तक समर्पण गर्दै तिमीलाई प्रेम दिवसको शुभकामना ।
उही तिम्री
क्रिस्टिना
Discussion about this post