इनरुवा ।सुनसरीमा आज बन्द प्राभाव परेको छैन् । पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले आह्वान गरेको आजको नेपाल बन्द सुनसरीमा भने नगन्य पाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भन्दै यी पार्टीले आज नेपाल बन्द गर्ने जानकारी गराएका थिए ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
तर, सुनसरीमा भने नेपाल बन्दले प्रभाव परेको छैन । सुनसरीको इटहरी, धरान, इनरुवा, दुहवी लगायतका क्षेत्रमा छोटो तथा लामो दुरीका सवारीसाधनहरु निर्वाद्ध रुपमा आवातजावत भइरहेका छन् । सुनसरीको इटहरी र धरान हुँदै धनकुटा, पाँचथर, तेह्रथुम, खोटाङ, संखुवासभा, भोजपुर जाने पहाडी रुटका बस विहानै देखि निर्वाद रुपमा सञ्चालन भइरहेका छन् । यस्तै विराटनगर–इटहरी–काँकडभिटा र धरान–इटहरी–काँकडभिटा रुटका बस पनि विना रोकतोक सञ्चालन भइरहेका छन् ।
प्रदेश १ का १४ जिल्लाकै ट्रान्जिट पोइन्टको रुपमा रहेको सुनसरीमा काठमाडौँसम्म सञ्चालन हुने लामो दुरीका यातायातका साधन भने थोरै मात्रामा प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए । तर बन्दकर्ता भने कतै नदेखिएको उनले बताए । सम्भावित घटनालाई लक्षित गरेर जिल्ला भर सुरक्षा व्यवस्था कडा बनाइएको उनले जानकारी दिएका छन् । साथै बजार तथा पसल व्यवसाय पनि खुलेका छन् । हामीले यो समाचार तयार गर्दासम्म अर्थात् बुधबार बिहान १० बजेसम्म बन्दको प्रभाव छैन ।
Discussion about this post