धरान / धरान उपमहानगरपालिकाले सर्दु जलाधार क्षेत्रमा फोहोर मैला नियन्त्रण गर्न शनिवार देखी सरसफाई अभियान शुरु गर्दैछ । धरान–धनकुटा सडक खण्डमा चल्ने सवारी जलाधार क्षेत्रमा रोकेर दिशा–पिसाब गर्ने फोहोर फाल्ने गरेकाले त्यहाँबाट आउने खानेपानी प्रदुषित हुने गरेको छ । जलाधार क्षेत्रको सडकलाई खुल्ला फोहोर मुक्त बनाउने अभियानको शुरुआतका रुपमा यो अभियान थालिएको हो ।
मेयर तिलक राईका अनुसार सवारी साधनहरुका कारण हुने फोहोर नियन्त्रण गर्न धरान बेश क्याम–भेडेटार सम्मका लागि ‘टाइम कार्ड लागु गर्न गृहकार्य थालिएको छ । उनले भने ‘धरानबाट हिडेको सवारी निश्चित समयमा भेडेटार पुग्नुपर्ने टाइम कार्ड लगाइएपछि विच रोकेर दिशा पिसाब गर्ने, फोहोर फाल्ने काममा नियन्त्रण हुनसक्छ ।’
उनका अनुसार टाइम कार्डको पूर्वाधारका लागि बेश क्याम्पमा सार्वजनिक सवारीका यात्रुहरुका लागि सार्वजनिक शौचालय, विश्रामस्थलको सुविधा उपलव्ध गराइने छ । त्यस्को लागि सरकारी–नीजि साझेदारीमा उपयुक्तस्थलको खोजी भैरहेको छ । लामो दुरीबाट आएका सवारीका यात्रुहरु लाई वेश क्याम्पमै शोचालय लगायतको सुविधा उपलव्ध गराएपछि जलाधार क्षेत्रमा सवारी रोक्नुपर्ने आवश्यकता नहुने उनले बताए ।
मेयरले भने ‘जलाधार क्षेत्रमा सवारी रोक्नै नमिल्ने अवस्था बनाउन जरुरी भैसकेको छ ।’ धरानको खानेपानीको मुख्य श्रोत जलाधार भएकोले यस्को दिर्घकालिन संरक्षणको पहिलो कदमको रुपमा यस्लाई लिइएको उनले बताए । यस बारेमा धरानबासीमा सचेतना बढाउँदै स्थानिय जनसहभागीतामा संरक्षण र सरसफाईका लागि शनिवार देखी सरसफाई अभियान शुरु गरिएको हो ।
मेयर राईको सभापतित्व बिहिबार धरानका सामाजिक तथा जातिय संगठनहरुका प्रतिनिधिहरु विच सरसफाई अभियाका बारेमा छलफल भएको छ । छलफलले उपमहानगरपालिकाको आयोजनामा शनिबार हुने सरसफाईमा अधिकतम सहभागीता हुने निर्णय गरेको छ । धरान–१३ बेस क्याम्प देखि भेडेटारसम्म बृहत सरसफाई गरिने भएको हो ।
२०० जना भन्दा बढी सामाजिक कार्यकर्ताहरुले विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाई सुरु गर्ने छन् । बेश क्याम्प देखी भेडेटार सम्म समुह समुहमा विभाजीत भए उनिहरुले उक्त सडक खण्डको दायाँबायाँ फालिएका सिसाजन्य तथा प्लाष्टिकजन्य फोहोरहरु संकलन गर्नेछन् । सबै समुह सफाई गर्दै भेडेटार पुगेपछि सचेतना कोणसभा गरिने छ ।
छलफलका लागि भेला भएका संघसंस्थाका प्रतिनिधिहरु विच मेयर राईले भने ‘पानीको मुहानलाई सधै सफा राखौं, प्राकृतिक सम्पदाको सम्बद्र्धन गरौं, जथाभावी फोहोर नफालौं र सफा रहौं, स्वस्थ जिवन निर्वाह गरौं’ भन्ने सन्देशका साथ बृहत सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
Discussion about this post