सन्तोष मेहता / विराटनगर ।
मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र खाल्डो खनेर गाडेको अवस्थामा आज बिहान एक जना बालिकाको शव उत्खनन गरिएको छ । लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार प्रहरीले शव उत्खनन गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएसपी मुकारुङले बताए । उनका अनुसार बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला परेको मुकारुङको भनाइ छ । ‘दुई दिनअघि विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खाल्डोभित्र भेटियो,’ उनले भने ‘उत्खनन गरेर पोस्टमार्टमका लागि पठाउँदै घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको छ ।’ इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनास्थल पुगेर शव उत्खनन गरेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने जानकारी डीएसपी मुकारुङले दिए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् । नाम नुखलाइएका उनीहरुको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ । घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटरजति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटरजति पश्चिममा पर्ने स्थानीय राज थापाले बताए । थापाका अनुसार प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । चार-पाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरेको उहाँले बताए । बलात्कारपछि हत्या गरेर बालिकाको शव गाडिएको भन्दै आफन्त र स्थानीयले दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् । पहिचान गरेर दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता जनाउँदै प्रहरीले भीडलाई सम्झाईबुझाई गरेको थियो । घटनास्थलमा भेला भएका स्कुले विद्यार्थीहरु हत्या गरेर गाडेको अवस्थामा साथीको शव खाल्डोबाट निकालेको देखेपछि थामिन सकेनन् । खाल्डोबाट शव निकालेको देखेपछि उनीहरुबीच रुवाबासी चलेको थियो ।
Discussion about this post