दिपेन्द्र यादव /इनरुवा । गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैन् । उनले आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपाली गहुँ लगाएका छन् ।
विगतमा एक कट्ठामा ७ क्वीन्टल सम्म मकै उत्पादन भएको उनले सुनाउँछन् । “क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।”
भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् । ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् । उनीहरुका लागि अहिले फौजी किरा र गवाराे किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।
स्थानीय युवा शंकर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । “पहिलो गासमै ढुंगा भनेजस्तो भयो”, उनले भने, “खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।” उनले स्थानीय एग्रो फर्मको सल्लाह लिएर मकैमा विषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भयो । यो अबधिमा उनले मकैमा ५ पटक विषादी छरिसके । “मेरो खेतमा पोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन”, उनले भने, “यसपाली त बर्बादै होला जस्तो छ ।” उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् ।
उनले गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । “यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो”, उनले भनिन्, “खेती गरेर खाने दिन गए जस्तो लागेको छ ।” गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपाली उनले आधा भन्दा बढी जमिनमा तोरी खेती गरेका छन् ।
मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ । गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान प्रविन मेहताले बताए । “मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ”, उनले भने, “विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।
यता जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीका कृषि विज्ञ तथा कार्यालय प्रमुख तिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन गरेका छन् ।
सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमन गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि शाखा प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।
उनले जानकारी दिएअनुसार अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकै सि.ए. एच ५०११, सि.ए. एच १७१५, भि.एच १८४६, आर.एम.एल १४५/आर .एल १११, आर.एम.एल १४५ /आर.एल.९८, आर.एम.एल. १४५ /आर.एल २, भि. एच १८६१४ अनुसन्धान गरिएको हो ।
सो स्वदेशी हाइव्रिड जातका मकैको विरुवाहरु मध्ये कुन जातको राम्रो विरुवा र रोग कीरा रहित रहेको अनुसन्धान गरिएको बताइन् ।
अनुसन्धान गरिएको स्वदेशी हाइव्रिड ८ वटा जातका मकै मध्ये आर एम एल १४५ /आर एल ९८, आर एम एल १४५/आर एल २ जात राम्रो देखिएको र माटोमा उपयुक्त हुने बताए ।
Discussion about this post