मान बहादुर ठकुल्ला । टीकापुर / सिर्जनशील युवा समाज नेपालको र गुडिमुन्टे समुहको आयोजनामा यस क्षेत्रकै सबैभन्दा सर्वाधिक धनराशीको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा गुडिमुन्टे समुहले गतवर्ष देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताएका छन् । “हामिले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको संक्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो ।” कार्यक्रम संयोजक विकले भने, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौं ।”
उनले खेलकुदसँग पर्यटन क्षेत्रपनि जोडिएको भएका कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि खेलकुद प्रतियोगिताले भुमिका खेल्ने बताएका छन् । “लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भएपनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन ।” कार्यक्रम संयोजक विकले भने, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहान्छौं । त्यसैले बर्षौसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौं र त्यसलाई निरन्तरता दिइरहेका छौं ।”
गतवर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु गरेको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर एक लाख ५१ हजार एक रुपैयाँ बनाइएको बताइएको छ । साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान हुने टिमले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ । खेलमा तेस्रो स्थान हुने टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने शान्त्वना हुने टिमले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा टिम सहभागी हुँदा ७ हजार प्रवेश शुल्क आयोजकलाई बुझाउनु पर्ने बताउँदै प्रतियोगिता संयोजक विकले नेपाली खेलाडीहरुको मात्रै प्रतियोगितामा सहभागिता रहने बताएका छन् । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ ।
उनले खेलकुद प्रतियोगिता आयोजना गर्नको लागि ६ लाख ६० हजार रुपैयाँको अनुमानित खर्च आकलन गरिएको बताउँदै त्यसकालागि खेलप्रेमीहरुलाई सहयोगको लागि समेत आग्रह गरेका छन् । खेल टीकापुरको भानु चोक (कान्छी बजारमा) हुने बताइएको छ ।
भलिबल प्रतियोगितासँगै समुदायमा भैरहेका कुरिती कुसंस्कार लगाएत जनचेतनामूलक साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । टीकापुरमा लामो समयदेखि मनोरञ्जनका कार्यक्रमहरु समेत नभएको बताउँदै गुडिमुन्टे समुहका संयोजक राजेन्द्र विश्वकर्माले प्रतियोगितासँगसँगै विभिन्न कलाकारहरुको प्रस्तुत समेत रहने बताएका छन् । “हामी कलाकार पनि भएकोले साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेका हौं । त्यसले कार्यक्रममा सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गर्ने छ ।” समुहका संयोजक विश्वकर्माले भने, “हामिले गर्ने कार्यक्रम अरुले गर्ने भन्दा फरक होस् भन्ने हाम्रो चाहना हो ।”
Discussion about this post