इनरुवा । सुनसरीमा धानबालीपछिकाे दाेस्राे बालीको रुपमा लगाउँदै आएको गहुँ छर्नै समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल बिनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।
धान भित्रयासकेकाे महिना दिन भइसक्दा पनि अहिले जिल्लाको सदरमुकाम इनरूवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका र हरिनगर , भाेक्राहा नरसिंह, काेशी, गढी, बर्जु, देवानगञ्ज गाउँपालिका क्षेत्रका ग्रामीण क्षेत्रमा प्रयाप्त मात्रामा मल नपाएपछि पूर्णरूपमा गहुँ छर्न नपाएको किसानहरुले गुनासो गरेका छन् । काेशी गाउँपालिका – ६ का किसान नारायण यादवले गहुँ छर्ने मुख्य ऋतु सुरु भएर सकिन लग्दासमेत बजारमा मल नआएको बताएका छन् । धान काटेर खेत खाली भएको महिना लाग्दासमेत बजारमा मल नपाउँदा मल बिनाको बाली राम्रो नहुने हाे कि चिन्ता लागेको गुनासो उनले सुनाए । हरिनगरका अर्का किसान विजय मेहताले अधियाँमा १० कठ्ठा खेती गर्दै आएको मा गहुँ काे बीउमा डिएपी र पाेटास मिसाएर छर्ने याेजना बनाए पनि गाउँमै रहेकाे सहकारी र बजारका पसलमा मल नहुँदा मल बिना नै गहुँ छेर । यादवले आफूजस्तै हजारौं किसानले डीएपी , पाेटास र युरिया मलको अभाव खेप्न बाध्य भएको बताए ।
बजारमा मल नपाएपछि सीमावर्ती दक्षिणवर्ती गाउँका किसानले भारतबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गर्न बाध्य भएका छन् । सुनसरीकाे देवानगञ्ज गाउँपालिका -४ का किसान राजदेव मेहता, हरिनगर गाउँपालिकाका किसान राजेश यादव, गढी गाउँपालिकाका किसान सन्ताेष यादवले मल नपाएकाले किसान समस्यामा परेको बताएका छन् ।
यसैबीच जिल्लाका केही सहकारी संस्थाहरूले मलखाद भण्डारण गरी नेपाल सरकारले ताेकेकाे मूल्यभन्दा बढीमूल्यमा समेत बिक्री गरिरहेका छन् ।
Discussion about this post