पुष्षा यादव /इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरेका छन् ।
आप्रवासीहरु जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै आइएको छ।
कामका लागि परदेश जाने र उनका परिवारको अधिकारका लागि यो दिवस सुनसरी सदरमुकाम इनरूवामा आज (आइतबार) विभिन्न कार्यक्रम गरी मनाइएकाे हाे ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई यो दिवसका रुपमा मनाउन थालिएका छन् । दिवसको अवसरमा आप्रवासी कामदारका सुरक्षा र उहाँहरूको सम्मान, ज्यालाको सुनिश्चितताका लागि हातेमालो गरौँ, विभेदरहित समाजको निर्माण गरौँ नाराका साथ इनरुवामा सरोकारवालाबीच अन्तरक्रिया तथा आप्रवासी सम्मान कार्यक्रम सम्पन्न गरेका छन् ।
जिल्लाकाे विभिन्न स्थानीय तहबाट विदेश गएर फर्किएका (आप्रवासी) पाँच जना उद्यमशील युवालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा धरानकी ममता मोते, इनरुवाका मुन्ना गुप्ता, अशोक कुँवर, भोक्राहा नरसिंहका बेचन यादव र इनरुवाका दिलिपकुमार पण्डित रहेका छन् ।
पाँचै जना विदेश गएर फर्किएपछि त्यहाँ सिकेका सीपको प्रयोग गरेर अहिले परिवारसँग बसेर विदेशको भन्दा बढी आम्दानी गर्दै उदाहरणीय बनेको सामीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिएका छन् ।
जिल्लामा सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत इनरुवा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन रहेको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको इनरुवा नगरपालिकाको आयोजनामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मुख्य रूपमा खाडी मुलुकमा रोजगारीमा जाने नेपाली युवाले भोग्दैआएका समस्या तथा वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनु पर्ने सावधानी, स्वदेश तथा विदेशका रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नेबारे चर्चा गरिएको थियो ।
सामी परियोजना कार्यक्रम संयोजक धिरज भट्टराईले अन्तर्राष्ट्रिय आप्रवासन दिवसबारे जानकारी गराउँदै नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक र सकारात्मक पक्ष, चुनौती तथा अवसरका बारे जानकारी गराउँदै यसमा रहेका नकारात्मक पक्षलाई न्यूनीकरण गर्न सुरक्षित आप्रवासन (सामी) ले गर्दै गरेका कार्यक्रमबारे जानकारी गराएको थियो ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक एवम् नागरिक समाजका संयोजक पुरुषोत्तम घिमिरेले नेपालमा वैदेशिक रोजगारीको ऐतिहासिकता, यसका अन्तर्निहित पक्षको विश्लेषण गर्दै वैदेशिक रोजगारीमा जान चाहनेले सीप तथा वित्तीय साक्षरताको ज्ञान लिनुपर्ने बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासनबिचको सहकार्य र यसको प्रभावकारिता बारे चर्चा गरेका थिए । यादवले कार्यक्रम प्रभावकारी भएकाले यसको सही सूचना र जानकारी प्रत्येक टोलसम्म पुग्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहले देशको कुल ग्राहस्थमा २३ प्रतिशत योगदान गर्ने वैदेशिक रोजगारलाई अझै व्यवस्थित गर्नुपर्ने र स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नुपर्ने बताए ।










Discussion about this post