दिपेन्द्र यादव/सुनसरी । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरईद सुनसरी सहित देशभर र विश्वभरका मुस्लिमहरुले हर्षाेउल्लासका साथ मनाउँदैछन्। जिल्लाको सदरमुकाम इनरुवा, कोशी, हरिनगर, भोक्राहा नरसिंह, रामधुनी, इटहरी, धरान, गढी, दुहबी, बर्जु लगायतका स्थानहरूमा मुस्लिम धर्मावलम्बीहरुले ईदुल अजहा हर्षोल्लासका साथ मनाइरहेका छन्।
विभिन्न स्थानहरूमा रहेका ईदगाह तथा मस्जिदहरूमा भेला भई सामूहिक नमाज पढेर एकआपसमा अकमाल गरि, जीवनभरि रहेको रिसिभीहरुलाई प्रेममायामा बदलि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन। ईदुल अजहाको नमाज पढी सकेपछि मुस्लिम धर्मावलम्बीहरु आ-आफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन्। धार्मिक ग्रन्थ अनुसार, अल्लाहले सबैभन्दा प्यारो वस्तु कुरवानी मागेपछि नवी इब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको बली दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ।
आजको दिनलाई उनीहरु अल्लाहले भेडाको कुरवानी लिएर ईस्माईललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घरघरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर ईदुल अजहा मनाउँदैछन्। कुरवानीको मासुलाई बराबर तीन भागमा निकालेर पहिलो भाग गरिबलाई, दोस्रो भाग साथीभाई र इष्टमित्रहरुलाई, र तेस्रो भाग आफ्ना घरपरिवारलाई दिने गरिन्छ।
नेपाल सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठुलो महान चाड बकरा ईदको अवसरमा आज सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्बीहरु नेपाल सरकारप्रति खुशी व्यक्त गरेका छन्। उनीहरु इस्लामी महिनाको अन्तिम महिनाको तीन दिन, अर्थात् १०, ११ र १२ तारिखको दिन कुरवानी मनाउँछन्।
यसैक्रममा मदरसा जामिया फारुकिया निदायक हक कपिलवस्तु तौलिहवाका गुरु हजरत मौलाना जाहिरुद्दिन अन्सारीसँग कुरबानी सम्बन्धि कुराकानीमा केही जानकारी यस प्रकार छन्:
कुरबानीको इतिहास: इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो। सुन्नत भनेको जुन काम अल्लाहको खुशीका लागि पैगम्बरहरुले गर्नु पर्छ। अल्लाहताले कुरबानी आफ्नो अन्तिम नवी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखिएको थियो। कुरान शरिफमा अल्लाहको आदेश छ, “आफ्नो अल्लाहको लागि नमाज पढा र कुरबानी गर।” कुरबानी नवीको सुन्नत पनि हो र अल्लाहको हुकुम पनि।
कुरबानी गर्ने व्यक्ति: कुरबानी गर्ने व्यक्तिको जिम्मामा आवश्यकताबाहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चाँदी वा सोही मूल्य बराबरको रकम छ भने त्यस्तो व्यक्तिले कुरबानी गर्नु पर्छ। यदी त्यस्तो व्यक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा गुनाहगार हुनेछ।
कुरबानीको मासु: कुरबानी गरेपछि मासुलाई तीन भागमा बाँड्नुपर्छ। पहिलो भाग गरिबलाई, जसले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन। दोस्रो भाग इष्टमित्र, नातेदार वा साथीहरुलाई, र तेस्रो भाग आफ्नो घर परिवारलाई खानका लागि राख्नुपर्छ।
कुरबानीको जनावर: कुरबानीका लागि खसी, भेडा, गाई, भैंसी, रांगा, र उटको कुरबानी गरिन्छ। नेपालमा गाईको पूजा गरिने र गाई राष्ट्रिय जनावर भएकाले नेपाली मुस्लिमले गाईको कुरबानी दिँदैनन्, तर बाहिरी देशमा गाईको कुरबानी दिने चलन छ। गाई, भैंसी, र उटको कुरबानी गर्दा सात जना मिलेर गरेपछि कुरबानी कबुल भएको मानिन्छ।
यसरी, मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ ईदुल अजहा मनाइरहेका छन्, जसले धार्मिक आस्था र एकताको सन्देश प्रवाह गर्दछ।
Discussion about this post