चिराैली । सुनसरीकाे भोक्राहा नरसिंह— नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा ३०औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ। गाउँपालिकाको चिरौली चौकमा सम्पन्न कार्यक्रमले आदिवासी समुदायको पहिचान र संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।
महासंघकी अध्यक्ष ममता कुमारी उराँवको अध्यक्षता र कोशी प्रदेशसभा (ख) का सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय नेताहरू, जनप्रतिनिधिहरू, र आदिवासी समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मन्सुरीले आदिवासी समुदायको महत्त्वलाई औंल्याउँदै उनीहरूको पहिचान देशको सान भएको बताउँदै दिवसको शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला संगठनका सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहता, नेपाल मुस्लिम संघ सुनसरी जिल्ला सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी, जसपा नेपाल भोक्राहा नरसिंह अध्यक्ष महेन्द्र प्रसाद यादव, नेकपा एमाले भोक्राहा नरसिंह अध्यक्ष हेमनारायण मण्डल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
उक्त अवसरमा उराँव समुदायले आफ्नो सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गर्दै आदिवासी पहिचानको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए। कार्यक्रमले आदिवासी समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्ने सन्देश प्रवाह गरेको थियो।
महासंघले कार्यक्रमको समापन गर्दै आदिवासी समुदायको हकअधिकार र पहिचानको सुनिश्चितता गर्न आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
Discussion about this post