इनरुवा ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सुनसरीको कोशी गाउँपालिका ४ र ६ बीचको शिवचोकदेखि भारतीय सीमा वीरपुरसम्म जोड्ने सडकको उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले सडक सञ्जालले नागरिकलाई आवतजावतमा सहजता पुर्याएको र यसले जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
उहाँले उक्त सडकले विद्यालय जाने बालबालिकादेखि कृषि कर्म गर्ने किसानसम्मलाई लाभ पुग्ने र अनाज ओसार्न सहज हुने उल्लेख गर्नुभयो।
पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैतले सडक निर्माण भएपछि कोशी गाउँपालिका ४, ५, र ६ का नागरिकहरूलाई मुख्य राजमार्गमा आउन सजिलो भएको बताउँदै, यो परियोजना आफ्नो प्रदेश मन्त्रीकालमा गरिएको पहलको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले ६.१५ किलोमिटर लामो यो सडकले स्थानीय बासिन्दाहरूलाई ठूलो राहत दिएको बताउनुभयो।
कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले ग्रामीण सडक सञ्जालको निर्माणले व्यापार र कृषिमा पनि टेवा पुगेको बताउनुभयो। उहाँले २३ करोड ८२ लाख रुपैयाँ लागतमा निर्मित यस सीमावर्ती सडकले धेरै नागरिकलाई खुशी बनाएको बताउनुभयो।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव लगायत सहकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
Discussion about this post