सुनसरी । धनकुटामा सब्जी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेसँगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । सिधुवाबाट तरकारी बोकेर धरान तर्फ आउदै गरेको ट्रकमा शंका लागि चेकजाच गर्दा सो परिमाणको गाँजा बरामद भएको भेडेटार प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४५ प ५२७६ नम्बरको मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-१ का २९ बर्षीय सन्त कुमार तामाङलाई ३२० ग्राम गाँजा सहित पथरी शनिश्चरे नगरपालिका-१० बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेशमा प्रहरीले हरेक दिन ठूलो संख्यामा गाँजासहित अन्य लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ। पछिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।
प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको बेला एम्बुलेन्सले भने गाँजा बोक्ने साधन बनिरहेकाले अब सडकमा गुड्ने सबै एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई कडाईका साथ चेकजाँच गरे धेरै गाँजा बरामद हुने देखिन्छ।
Discussion about this post