सुनसरी – वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग रकम उठाएका सर्लाही लालबन्दी नगरपालिका वडा–८ का पदमबहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठ फरार भएका छन्। पीडित युवाले गोले दम्पतीले एक करोड १७ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार भएको बताएका छन्।
गोले दम्पतीले विभिन्न देशमा राम्रो रोजगारीको अवसर दिन्छौँ भनी दावा गर्दै, एकै व्यक्तिसँग नौ लाख रुपैयाभन्दा बढी रकम असुली गरेका छन्। पीडित मिलनकुमार चौधरीका अनुसार, गोले दम्पतीले तराईका पाँचवटा जिल्लाका ६५ जना युवासँग रकम संकलन गरेका छन्।
उनीहरुले सर्लाही, महोत्तरी, रौतहट, धनुषा, र सुनसरीका युवालाई विभिन्न देशमा रोजगारीको अवसर आएकाले त्यसका लागि आवश्यक कागजात तयार गर्नु पर्ने बताए। कुवेतमा राम्रो कामको अवसर आएको भनी भनाइ राखेर, युवा समिर कुश्वारले नौ लाख १० हजार रुपैयाँ दिएको बताए।
उक्त रकम बुझाए लगत्तै भिषा आउने र मासिक ५७ हजार रुपैयाँसम्म कमाइ हुने कुरा भनी गोलेले आश्वासन दिएका थिए। तर, डेढ वर्ष बितिसक्दा पनि रोजगारीको व्यवस्था नभएपछि, पीडित युवाले ईलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका थिए।
प्रहरीले लामो समय प्रयास गर्दा पनि गोले दम्पतीलाई पक्राउ गर्न नसकेको गुनासो छ। पहिलेदेखि नै पक्राउ गरिएका गोले तीन महिना भित्र पैसा फिर्ता गर्ने सर्तमा छुटेका थिए। तर, पीडित मिलन चौधरी र समिर कुश्वारलाई दिइएका बैंक चेकमा रकम नभएको थाहा पाएपछि, गोलेलाई खोज्न जाँदा उनी श्रीमतीसहित फरार भएको पुष्टि भएको छ।
गोलेले मिलन कुमार चौधरीसँग पाँच लाख, समिर कुश्वारसँग नौ लाख १० हजार र रौतहटका युवाबाट २० लाख ६० हजार रकम ठगी गरेको कपाली तमसुकमा देखिन्छ। महोत्तरी, रौतहट, धनुषा र सुनसरीका युवाबाट पनि रकम ठगी गरिएको दाबी छ।










Discussion about this post