सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ का लागि मातहतका सबै कार्यालयहरूसँग वार्षिक कार्य सम्पादन सम्झौता सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा, जिल्ला प्रहरी प्रमुख एसपी विपिन रेग्मीले कार्यालय प्रमुखहरूलाई बोलाएर, प्रत्येक कार्यालय प्रमुखसँग सम्झौतामा हस्ताक्षर गराएका छन् ।
कार्यक्रममा, एसपी रेग्मीले प्रमुखहरूलाई प्रहरी ऐन, नियमावली, र प्रचलित कानुनको अधिनमा रही, नेपाल प्रहरीका कर्तव्य र अधिकारलाई पूरा गर्दै, त्रैमासिक, अर्धवार्षिक, र वार्षिक रुपमा प्रगति विवरण तयार गर्नुपर्ने बताए । सम्बन्धित कार्यालयकाे प्रगति विवरण समयमै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउनुपर्नेछ, जसका आधारमा कार्यालयहरूको मूल्याङ्कन गरिनेछ।
प्रहरी प्रमुख रेग्मीले भने, “हामीले अपराध नियन्त्रण, चोरी डकैती रोकथाम, शान्ति सुरक्षा, र मुद्धा फछ्र्यौट जस्ता प्रमुख क्षेत्रहरूमा मापन सूचक (इण्डिकेटर) निर्धारण गरेका छौं। यी सूचकका आधारमा, २०८२ असारसम्म सबै कार्यालयहरूले आफ्नो कार्य सम्पादन प्रतिवेदन पेस गर्नुपर्नेछ।”
सुनसरी जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका इलाका प्रहरी कार्यालयहरू धरान, इटहरी, महेन्द्रनगर, दुहवी, पकली, लौकही, र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुखहरूले यस सम्झौतामा हस्ताक्षर गरेका छन्। एसपी रेग्मीले जिल्लाको शान्ति सुरक्षा बलियो बनाउन, प्रत्येक कार्यालय प्रमुखलाई आ–आफ्नो क्षेत्रमा थप सक्रिय हुन निर्देशन समेत दिएको छ।
कार्यक्रमको क्रममा, इटहरी र धरानका इलाका प्रहरी कार्यालय डिएसपीहरूको नेतृत्वमा रहेका छन् भने, महेन्द्रनगर, दुहवी, र पकली, देवानगञ्ज इलाकाहरूमा प्रहरी निरिक्षकहरू जिम्मेवारीमा छन्। लौकही, हरिनगरा, चिमडी लगायतमा प्रहरी नायब निरिक्षकको नेतृत्व रहेकाे छ भने, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान इन्स्पेक्टरको कमाण्डमा छ।










Discussion about this post