रन्धिर यादव/इनरुवा । सुनसरी सहित तराई-मधेशका जिल्लामा चौरचन पर्वकाे एक दिन मात्र बाकी रह्दा अहिले केराको माग उच्च भएको छ। सुनसरीका भाेक्राहा नरसिंह गाउँपालिका, काेशी गाउँपालिका, गढी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, इनरूवा नगरपालिका, रामधुनी नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिका, र धरान उपमहानगरपालिकालगायतका बजार क्षेत्रमा अहिले केराको व्यापार फस्टाएको छ।
चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाउने परम्परा रहेको छ, र यस पर्वलाई भदौ शुक्ल पक्षको चौथी तिथिमा चन्द्रमाको आराधना गर्दै मनाइन्छ। यस वर्ष चौरचन पर्व आउँदो शुक्रवार बेलुकी मनाइनेछ।
चौरचन पर्व केराखेती गर्ने किसानहरूका लागि विशेष अवसर बन्ने गरेको छ। भाेक्राहा नरसिंह गाउँपालिकाका किसानहरूले यस पर्वको मुखमा नै राम्रो आम्दानी गरिरहेका छन्। रामधुनी नगरपालिकाका किसान सत्यनारायण यादवका अनुसार, यस वर्ष चौरचन पर्वको कारणले बेचिएको केराबाट दुई लाख रुपैयाँ कमाइसकिएको छ।
सुनसरी जिल्लामा मात्र चौरचन पर्वको लागि ५० लाख रुपैयाँ बराबरको केरा किनबेच हुने अनुमान गरिएको छ। यसले किसानहरूका लागि आर्थिक लाभको स्रोतको रुपमा काम गरिरहेको छ।
स्थानीय किसानहरूका अनुसार, यो पर्वले केराको मागमा ठूलो वृद्धि ल्याएको छ, जसले गर्दा बजारमा केराको मूल्यमा समेत वृद्धि भएको देखिएको छ। सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका बजारहरूमा अहिले केराको व्यापार निकै चलिरहेको छ।
Discussion about this post