इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले दुई जना कर्मचारीलाई विदाई कार्यक्रमको आयोजना गर्दै विदा गरेको छ। गाउँपालिकाबाट स्थानान्तरण भएका कृषि शाखाका प्राविधिक सहायक पुरुषोत्तम जोशी र सहायक पाँचौं प्रशासन शाखाका कृष्ण कुमार साहलाई विदाई गरिएको हो। विदाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतका जनप्रतिनिधिहरू र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कृषि शाखाका प्राविधिक सहायक जोशीलाई मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय काेशी प्रदेश बिराटनगरले मोरङको बुढीगंगा गाउँपालिकामा सरुवा गरिएको छ। जोशीले भोक्राहा नरसिंहमा कृषि क्षेत्रमा गरेका योगदानहरूको सम्मानस्वरूप उनलाई विदाई गरिएकाे छ। उनकाे कार्यकालको प्रशंसा गर्दै अध्यक्ष आजादले भने, “पुरुषोत्तम जोशीजस्ता समर्पित कर्मचारीले यहाँको कृषि विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। नयाँ ठाउँमा पनि उहाँले यस्तै उत्कृष्ट कार्य गर्ने विश्वास लिएका छौं।”
यस्तै, सहायक पाँचौं प्रशासन शाखाका कृष्ण कुमार साहलाई लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधामबाट लेखा समूहमा सिफारिस भई अर्थ मन्त्रालय मधेस प्रदेशमा सरुवा गरिएको छ। उनलाई पनि प्रशासनिक क्षेत्रमा गरेका योगदानका लागि सम्मान गरिएकाे हाे। प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले कार्यक्रममा भने, “कृष्ण कुमार साहले प्रशासन क्षेत्रमा देखाएको लगनशीलता प्रशंसनीय छ। उहाँको आगामी कार्यकाल सफल रहोस् भन्ने हाम्रो शुभेच्छा छ।”
कार्यक्रममा अध्यक्ष आजादले कर्मचारी सरुवा सामान्य प्रक्रिया भए पनि यसले संस्थामा गहिरो प्रभाव पार्ने बताउँदै भने, “यहाँका सबै कर्मचारीहरूले गाउँपालिकाको विकासमा योगदान दिएका छन्। विदाई भएर जाने कर्मचारीहरूले नयाँ ठाउँमा पनि सफलताको शिखर चुम्न सकून् भन्ने हाम्रो शुभकामना छ।”
कार्यक्रमका अन्त्यमा अन्य जनप्रतिनिधिहरूले पनि स्थानान्तरण भएका कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै उनीहरूको योगदानको स्मरण गरेका थिए।
Discussion about this post