काठमाडौं । नेपाल प्रहरीले मातहतका कर्मचारीलाई राजनीतिक नेतालगायत शक्तिकेन्द्रहरूसँग स्वीकृतिबिना भेटघाट गर्न प्रतिबन्ध लगाएको छ। प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र जारी गर्दै, कर्मचारीहरूले आफूभन्दा माथिल्लो कार्यालयको स्वीकृति बिना कसैसँग भेटघाट गर्न नपाउने व्यवस्था लागू गरेको हो।
परिपत्रमा उल्लंघन गर्ने कर्मचारीलाई विभागीय कारबाहीको चेतावनी समेत दिइएको छ। बिना स्वीकृति शक्तिकेन्द्र वा कुनै व्यक्तिसँग सम्पर्क गरे अभिलेखमा राखी कारबाही गरिने प्रष्ट गरिएको छ। कर्तव्य पालनाका लागि नभई व्यक्तिगत स्वार्थका आधारमा शक्तिकेन्द्रसँग गरिने अशोभनीय भेटघाटको पूर्णरूपमा रोक लगाउन निर्देशन गरिएको छ।
प्रहरी स्रोतका अनुसार सरुवा, बढुवा, पुरस्कार लगायतका वृत्तिविकासका निर्णयमा बाह्य दबाब देखिएपछि यो कदम चालिएको हो। प्रहरीमा राजनीतिक प्रभाव र दवावलाई न्यून गर्न यो परिपत्र आवश्यक भएको उच्च अधिकारीहरूले बताएका छन्।
Discussion about this post