इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ स्थित हुलाकी मार्गमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार, बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीबाट २३५ किलो गाँजा बरामद गरिएको हो। उक्त गाडीमा आठ बोराभरी गाँजा लोड गरिएको थियो, जुन राति चेकजाँचका क्रममा फेला परेको हो।
सशस्त्र प्रहरीको टोलीले चेकिङ गरिरहेको बेला बोलेरो गाडीले चेकपोस्ट छलेर भाग्ने प्रयास गरेको थियो। तर, गाडी भगाउँदा खेतमा फँसेपछि चालकले गाडी छाडेर भागेका थिए। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार फरार चालकको खोजी कार्य जारी छ। प्रहरीका अनुसार, उक्त गाँजा सशस्त्र प्रहरी बलको बिओपी लौकहीका प्रहरी निरीक्षक आबेश पुन र सुरक्षा बेस भुटाहाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर राउतको नेतृत्वमा रहेको टोलीले बरामद गरेको हो।
यसअघि पनि हुलाकी मार्ग लागू औषध तस्करीका लागि प्रयोग हुँदै आएको जानकारी पाइएकोले प्रहरी प्रशासनले यस क्षेत्रमा चेकजाँच र निगरानीलाई थप कडा बनाएको छ। सुरक्षाको कडाइपछि यस घटनाले लागू औषध तस्करीमा थप अंकुश लगाउने अपेक्षा गरिएको छ। प्रहरीले अब गाँजाको स्रोत पत्ता लगाउन र यस तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि गहन अनुसन्धान थालेको छ।
Discussion about this post