दिपेन्द्र यादव /इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यको एक्यवद्धता“ भन्ने मूल नाराका साथ सञ्चालन भएको अभियानको संयोजन गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले गरेकी हुन् । महिलामाथि हुने हिंसाको अन्त्य र लैंगिक समानताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गाउँपालिका भरि व्यापक जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।
अभियानको औपचारिक उद्घाटन आज मंसिर १२ गते भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा गरेका छन् । उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा किशोरीहरूको ठूलो सहभागिता रहेको थियो। उद्घाटन सत्रमा उपाध्यक्ष सुनिता कुमारी उराँवले लैंगिक हिंसा विरुद्ध सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “लैंगिक हिंसा एक गम्भीर सामाजिक समस्या हो, यसको अन्त्यका लागि जनचेतना फैलाउनु आवश्यक छ। हामी सबै मिलेर हिंसा मुक्त समाज निर्माण गर्न सक्षम छौं।“
त्यसैगरी अभियान अन्तर्गत विभिन्न वडामा अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र प्रभातफेरी जस्ता विविध गतिविधिहरू आयोजना गरिने छ । सो कार्यक्रम अन्तरगत मंसिर १४ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ स्थित शारदा माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गर्ने भएको जानकारी दिए । मंसिर १६ गते वडा नं. २ को कार्यालयमा बिहान ११ बजे अन्तरक्रिया कार्यक्रम हुनेछ। त्यस्तै मंसिर १७ गते वडा नं. ३ स्थित जनता माविमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच लैंगिक हिंसा सम्बन्धी खुला छलफल गरिने छ। मंसिर १९ गते वडा नं. ५ को बीपी आधारभूत विद्यालयमा महिला सशक्तिकरण र लैंगिक समानता विषयमा सचेतनामूलक कार्यशाला सञ्चालन गरिनेछ।
सोही कार्यक्रम अन्तरगत मंसिर २० गते वडा नं. ६ मा रहेको जनता आधारभुत विद्यालय, मंसिर २१ गते वडा नं. ७ मा नरसिंह स्वास्थ्य चौकी र जनता माविमा पनि विभिन्न कार्यक्रमहरू हुनेछन्। स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा स्वास्थ्य सम्बन्धी परामर्श र लैंगिक हिंसाबाट बच्ने उपायहरूको जानकारी दिइनेछ । त्यस्तै मंसिर २५ गत बिहान ८ बजे वडा नं. ४ स्थित पृथ्वी नारायण माविमा प्रभातफेरी कार्यक्रमसहित अभियानको समापन गरिने छ।
यता महिला तथा बालबालिका शाखाकी तुलशा निरौलाले अभियानको महत्वबारे बताउँदै भनिन्, “लैंगिक हिंसा विरुद्धको यो अभियानले हाम्रो समुदायमा जनचेतना फैलाउनेछ। महिलामाथि हुने हिंसा, दुर्व्यवहार र विभेदको अन्त्यका लागि सबैले आफूले सक्दो योगदान दिनुपर्छ।“
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले अभियानमा स्थानीय सरकारको भूमिकाबारे प्रकाश पार्दै भने, “हामीले महिलाको अधिकार र सुरक्षाका लागि निरन्तर पहल गरिरहेका छौं। यो अभियान हिंसामुक्त समाज निर्माणको दिशामा एउटा ठूलो कदम हो।“ प्रशासन शाखाकी दिपा थापा, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू तथा स्थानीय नेताहरूको उपस्थिति कार्यक्रमहरूमा उत्साहजनक रह्ने जानकारी दिइन् ।
यता प्रदेश प्वाइन्ट अनलाइनकर्मीसँग स्थानीय महिलाहरूले पनि अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। वडा नं. ५ की स्थानीय बासिन्दा सीता देवीले भनिन्, “यस अभियानले महिलाहरूलाई हिंसाबारे खुलस्त बोल्न र न्यायका लागि आवाज उठाउन हौसला मिलेको छ।“
अभियानले लैंगिक हिंसाको अन्त्यका लागि स्थानीय स्तरमा जनचेतना जगाउने मात्र नभई, कानूनी अधिकारबारे पनि जानकारी प्रदान गर्नेछ। अभियानको सफलताले भविष्यमा गाउँपालिकाले महिलामाथि हुने हिंसा र विभेदको अन्त्यमा थप ठोस कदम चाल्ने विश्वास गरिएको छ।
यस्तो किसिमको जनचेतनामूलक अभियानले लैंगिक हिंसाविरुद्धको लडाइँमा समाजका सबै वर्गलाई एकजुट गर्दै हिंसामुक्त समाज निर्माणमा उल्लेखनीय योगदान पुर्याउने पालिकाको लक्ष्य रहेका छन् ।










Discussion about this post