दिपेन्द्र यादव/इनरुवा । सुनसरी क्षेत्र नं. ४ का संघीय सांसद तथा पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रर्वद्धनमा विशेष सक्रियता देखाएको छ। आइतबार हात्ती सफारी गर्दै आरक्षको भ्रमणका क्रममा उनले कोसी टप्पुलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने योजनामा आफू केन्द्रित रहेको बताए।
कोसी टप्पु वन्यजन्तु आरक्ष पूर्वी नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँ जैविक विविधता, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र प्राकृतिक सुन्दरता पर्यटकको मुख्य आकर्षण हो। पूर्वमन्त्री कार्कीले यस क्षेत्रको विकासले स्थानीय नागरिकको जीवनस्तर सुधार्न सक्ने उल्लेख गर्दै संरक्षण, प्रर्वद्धन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
उनले भने, “पर्यटकहरूको आगमनले केवल आर्थिक फाइदा मात्र होइन, सामाजिक उत्थानमा पनि सकारात्मक प्रभाव पार्छ। यस क्षेत्रको विकासले स्थानीय बासिन्दाको रोजगारी र आयआर्जनमा वृद्धि हुनेछ।”
पूर्वमन्त्री कार्कीले कोसी टप्पुको दीर्घकालीन विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई अनिवार्य रह्नुपर्ने बताए । पर्यटकीय सम्भावना बढाउन निजी क्षेत्रको सहभागिता आवश्यक रहेको औंल्याउँदै उनले वातावरणमैत्री पूर्वाधार निर्माणको खाँचो रहेको बताए।
उक्त भ्रमणमा कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको पनि उपस्थिति थियो। मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अघि सारेको र कोसी टप्पुलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
यता कोसी टप्पुमा हात्ती सफारी, चराचुरुङ्गी अवलोकन र प्राकृतिक दृश्यावलोकन जस्ता गतिविधिहरू लोकप्रिय बन्दै गएका छन्। तर, यहाँ पर्याप्त पर्यटकीय पूर्वाधारको अभाव रहेको जानकारहरू बताउँछन्।
बाढी, कटान र मानव-वन्यजन्तु द्वन्द्व जस्ता समस्याले कोसी टप्पुको दीर्घकालीन संरक्षणमा चुनौती खडा गरेको छ। यद्यपि, सरकारको सक्रियताले यो क्षेत्रमा संरक्षण र प्रर्वद्धनको कामलाई गति दिएको छ।
पूर्वमन्त्री कार्कीले कोसी टप्पुलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाइरहेको बताए । उनले स्थानीय नागरिकहरूलाई पर्यटकहरूसँग प्रत्यक्ष जोड्न तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।










Discussion about this post