दिपेन्द्र यादव/इनरुवा । सुनसरी जिल्लाका ग्रामीण बस्तीहरू दिनानुदिन सुनसान बन्दै गएका छन्। कामको खोजीमा युवाहरू खाडी मुलुकदेखि युरोप, अमेरिका पुगेका छन् भने गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बाकीँ छन्। जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएपछि गाउँहरू युवाशक्तिविहीन हुँदै गएका छन्।
सुनसरीका ग्रामीण क्षेत्र—जस्तै धरान, इटहरी, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहबी, बर्जु, हरिनगरा, देवानगञ्ज, गढी, काेशी, भोकाहा नरसिंह लगायतका गाउँपालिकामा अधिकांश युवाले स्थानीय स्तरमा रोजगारी नपाएपछि विदेशको बाटो रोजिरहेका छन्। कृषि, उद्योग र स्वरोजगारको अवसरको अभावले गर्दा पढेलेखेका र कम पढेका युवाले अन्य विकल्प खोज्न नसकेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
यता उदयपुरमा नर्सिङ अध्ययन पूरा गरेकी काेशी गाउँपालिकाकी २७ वर्षीया अनुजाकुमारी मण्डलले भनिन्, “चार वर्ष लगाएर लाखौं खर्चेर नर्सिङ पढेँ। मासिक १५ हजारभन्दा बढी कमाउन सक्दिनँ। यही तलबमा घर चलाउन सम्भव भएन, अब कतार जान तयारी गर्दैछु।” यस्तै बाध्यता अन्य युवाहरूको पनि छ।
त्यसैगरी सुनसरीबाट मात्रै हरेक वर्ष हजारौं युवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन्। त्रिभुवन विमानस्थलमा लामबद्ध युवाको ठूलो संख्या सुनसरी, सप्तरी, मोरङ, झापा लगायतका जिल्लाबाट आएको पाइन्छ। कम पढेका युवाहरू खाडी मुलुकमा पसिना बगाइरहेका छन् भने अलि पढेलेखेका र दक्ष जनशक्ति युरोप, अमेरिका जस्ता देशमा भविष्य खोज्दै छन्।
यता सुनसरीका निजी अस्पतालहरूले पनि स्वास्थ्यमन्त्रीको निर्देशनविपरीत न्यूनतम पारिश्रमिक लागू गरेका छैनन्। नर्स, ल्याब टेक्निसियन र अन्य स्वास्थ्यकर्मीले न्यून तलबमा काम गर्नुपरेको छ। “कामको भार धेरै छ, तर तलब थोरै। न्यूनतम तलब कार्यान्वयनका लागि स्थानीय निकाय र सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्छ,” धरानस्थित एक निजी अस्पतालमा कार्यरत नर्सले नाम नबताउने शर्तमा बताइन्।
त्यस्तै जिल्लाका स्थानीय तहहरूले युवा रोजगारीका लागि ठोस योजना ल्याउन सकेका छैनन्। उद्योग खोल्न, कृषि आधुनिकीकरण गर्न र स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरकार अझै उदासीन देखिन्छ। भोकाहा नरसिंह गाउँपालिकाका एक स्थानीय युवाले भने, “विकासको नारा लगाउने नेताहरू चुनाव जितेपछि गाउँ फर्केर आउँदैनन्। गाउँमा काम नपाएर विदेश जानु बाध्यता भएको छ।”
विशेषज्ञहरूका अनुसार स्वदेशमै उद्योगधन्दा खोल्ने, कृषि आधुनिकीकरण गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने दीर्घकालीन योजनामा सरकार अघि बढ्नुपर्छ। सुनसरीका युवाहरूलाई स्थानीय स्तरमै रोजगारीको ग्यारेन्टी गर्न सके पलायनको दर घट्न सक्ने छ।
यता सुनसरी जिल्लामा युवा पलायनको समस्या विकराल बन्दै गएको छ। यसतर्फ स्थानीय निकाय, संघीय सरकार र जनप्रतिनिधिहरूले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ। उत्पादनमुखी अर्थतन्त्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न नसके गाउँहरू अझै सुनसान बन्ने र समाजले दीर्घकालीन संकट भोग्नुपर्ने निश्चित छ।
“युवाशक्ति देशको भविष्य हो। उनीहरूलाई स्वदेशमै समेट्न नसके समृद्ध नेपालको सपना अधुरो नै रहनेछ।”










Discussion about this post