इलाम — इलामको रोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन निरन्तर प्रयास गरिरहेको छ। यसै क्रममा पालिकाले तिते करेलालाई ब्रान्डिङ गर्दै बिक्री गर्न थालेको छ। यसअघि गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया र अम्लिसोलाई ब्रान्डिङ गर्दै आएको गाउँपालिकाले हाल करेलालाई नयाँ पहिचानसहित बजारमा पठाउन थालेको हो।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) का अनुसार किसानले उत्पादन गरेको करेलालाई प्रशोधन गरी ‘सुकुटी’को रूपमा प्याकेजिङ गरिँदैछ। उनले भने, “किसानले उत्पादन गरेको वस्तुलाई व्यवस्थित तरिकाले ब्रान्डिङ गर्दै बिक्री सुरु गरेका छौं। रोङको करेला खोज्नेहरूको संख्या बढिरहेको छ।”
गाउँपालिकाले यस वर्ष २ सय किलो करेलाको सुकुटी उत्पादन गरी बजार पठाइसकेको छ। पालिकाले सुकुटी बनाउने उद्योग निर्माण पनि गरिरहेको छ, जसले एक सिजनमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्ने क्षमता राख्ने बताइएको छ। “उद्योग बनेपछि स्थानीय किसानहरूले थप लाभ लिनेछन्,” अध्यक्ष स्याङ्वोले बताए।
सुकुटीलाई १० मिनेट तातो पानीमा भिजाउँदा पुरानै स्वरूप र स्वाद प्राप्त गर्न सकिन्छ। पालिकाले करेला उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै फलाएको करेला आफैं किनेर बजारसम्म पुर्याउने जिम्मा लिएको छ।
रोङमा कृषिजन्य वस्तुहरूको प्रचुर उत्पादन हुने भए पनि बजार अभावका कारण यसअघि उत्पादन खेर जान्थ्यो। काँक्रा, फर्सी, स्कुस, टमाटर, तरुल र सुन्तलाजस्ता उत्पादनहरू बजार नपाउँदा कुहिने अवस्था थियो।
अध्यक्ष स्याङ्वोका अनुसार पालिकाले किसानको उत्पादनलाई कुनै पनि हालतमा खेर जान नदिने प्रतिवद्धता लिएको छ। “रोङमा उत्पादन भएको कुनै पनि वस्तु कुहिनुपर्ने वा पशुलाई खुवाउनुपर्ने अवस्था आउँदैन। पालिकाले किसानलाई बजार र प्रशोधनका लागि आवश्यक सबै सहयोग गर्दै आएको छ,” उनले थपे।
रोङ गाउँपालिकाले कृषिजन्य उत्पादनहरूको बजारीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ। यसले कृषकहरूको आर्थिक स्तरमा सुधार ल्याउनुका साथै स्थानीय उत्पादनको नयाँ बजारसमेत तयार गर्ने विश्वास गरिएको बताए ।










Discussion about this post