शशी कोइराला/ इनरुवा । फोहोर व्यवस्थापनको विवादले लामो समयसम्म सताएको सुनसरी सदरमुकाम इनरुवाले अहिले यसलाई उदाहरणीय ढंगले समाधान गरेको छ। इनरुवा ८ मा रहेको स्रोत पुनःप्राप्ति केन्द्रले फोहोर व्यवस्थापनमा मात्र नभई आम्दानीको नयाँ ढोका खोल्न सफल भएको छ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको नेतृत्वमा विकसित यो केन्द्रले कुहिने, नकुहिने, ठूला र साना फोहोर छुट्याएर व्यवस्थापन गर्ने नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ। यहाँ दैनिक ६ ट्याक्टर फोहोर संकलन गरी कम्पोष्ट मल उत्पादन र पुनःप्रयोग गर्न सकिने सामग्रीको व्यवस्थापन गरिन्छ।
फोहोरको व्यवस्थापन प्रक्रियाः सफा र सुव्यवस्थित
इनरुवाको स्रोत पुनःप्राप्ति केन्द्रमा ११ जना कर्मचारी खटिएका छन्, जो दैनिक रुपमा संकलित फोहोर छुट्याएर व्यवस्थापन गर्छन्। कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिन्छ, जसले इनरुवामा जैविक खेती प्रवर्द्धन गर्ने लक्ष्यलाई बल दिएको छ।
कम्पोष्ट मल उत्पादनमा खटिएका केदार पोखरेलले केन्द्रको सफाई र दुर्गन्धरहित वातावरणलाई प्राथमिकता दिइएको जानकारी गराए।
छुट्याइएका नकुहिने फोहोरलाई पुनःप्रसोधन योग्य सामग्रीका रुपमा प्याक गरी विक्रीका लागि तयार पारिएको छ। नगरपालिकाले हालै करिब नौ लाख रुपैयाँ बराबरको सामग्री विक्रीका लागि सूचना प्रकाशित गरेको छ।
डम्पिङ साइटमा बनभोजः पर्यटकीय गन्तव्यतिर यात्रा
साधारणतया फोहोर फाल्ने स्थललाई दुर्गन्धित र अस्वच्छ मानिन्छ। तर, इनरुवाको डम्पिङ साइट यसको ठीक विपरीत छ। यहाँको सफाई र सुव्यवस्थित व्यवस्थापनका कारण यो स्थल अहिले स्थानीय र कर्मचारीका लागि बनभोजको उत्कृष्ट गन्तव्य बनेको छ।
हालै आयोजित बनभोज कार्यक्रममा मेयर केदार भण्डारी, वडा नं. ८ का अध्यक्ष अशोक साह, वडा नं. ५ का अध्यक्ष अनिल पोखरेल, कांग्रेस जिल्ला सचिव विरेन्द्र साहलगायतको उपस्थिति थियो। डम्पिङ साइट नजिकैको बगैंचामा आयोजित बनभोजले यस स्थलको उत्कृष्टतामा थप रंग भरेको छ।
वडा नं. ८ का अध्यक्ष अशोक साहले भने, “फोहोर फाल्ने स्थानलाई पर्यटकीय क्षेत्र बनाउने हाम्रो प्रयास हो। सुन्दर बगैंचा र सफा वातावरणले यो ठाँउलाई अध्ययन र मनोरञ्जनको केन्द्र बनाउँदै छ।”
नगरसभाको आयोजना यहीँ गर्ने योजना
इनरुवा नगरपालिकाले आगामी नगरसभा यही स्रोत पुनःप्राप्ति केन्द्रमै गर्ने योजना बनाएको छ। मेयर भण्डारीले भने, “यो क्षेत्र प्रदेशकै उदाहरणीय बनिरहेको छ। नगरसभा यहीँ गरेर यसको प्रचारप्रसार र प्रवर्द्धन गर्ने योजना छ।”
वडा नं. ५ का अध्यक्ष अनिल पोखरेलले नगरसभा मार्फत प्रदेशभरका अतिथिलाई स्वागत गर्दै डम्पिङ साइटलाई थप स्तरीय र आधुनिक बनाउन प्रेरणा दिन सकिने बताए।
यता नेपाली कांग्रेसका जिल्ला सचिव विरेन्द्र साहले इनरुवाले नमुनाको डम्पिङ साइट विकास गरेको अनुभव साझा गर्दै यसलाई अझ आधुनिक उपकरणसहितको व्यवस्थापन केन्द्रमा रूपान्तरण गर्न सकिने बताए।










Discussion about this post