दिपेन्द्र यादव/इनरुवा –सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले यस वर्ष पनि किसानहरूका लागि सिंचाइ सुविधामा सुधार गर्न महत्त्वपूर्ण पाइला चालेकाे छ। गाउँपालिकाले नि:शुल्क बाेरिंग वितरण र ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर उपलब्ध गराउने कार्यक्रम ल्याएकाे छ। यसअन्तर्गत करिब ५ सय किसानले प्रत्यक्ष लाभ लिने छन्।
गाउँपालिकाले यसअघि पनि सिंचाइका लागि ठुलाे पहल गरेकाे थियाे। गत वर्ष झन्डै ५ सय किसानले याे सुविधा प्राप्त गरी सिंचाइ समस्या समाधान गरेका थिए। याे वर्ष थप प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै सिंचाइको क्षेत्रमा सुधार गर्न निरन्तर काम भइरहेको बताए। “हामी किसानहरूको उत्पादन वृद्धि र उनीहरूकाे आर्थिक अवस्था सुधार गर्न प्रतिबद्ध छाैँ। यस वर्ष पनि झन्डै ५ सय किसानलाई याे सुविधा प्रदान गर्ने छाैँ। याे कार्यले किसानकाे जीवनस्तर सुधार्न ठाेलाे टेवा पुर्याउनेछ,” उनले भने।
यता भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले किसानहरूलाई सिंचाइको अभावबाट मुक्त गराउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। “ यस कार्यक्रमले सिंचाइको समस्यामा परेका किसानहरूलाई ठुलो राहत दिएको छ। अगामी वर्ष समेत याे सेवा निरन्तरता पाउने हाम्रो योजना छ,” उनले भने।
सिंचाइ सुविधा उपलब्ध भएपछि किसानहरूमा आत्मनिर्भरता र उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ। ८ वटै वडाका किसानलाई यो सुविधा पुर्याउन गाउँपालिकाले विशेष व्यवस्था गरेको छ। यसले हरेक किसानलाई सुलभ तरिकाले सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
त्यस्तै गाउँपालिकाले किसानहरूका लागि ल्याएको याे पहललाई किसानहरूले अत्यन्त सकारात्मक रूपमा लिएका छन्। “सिंचाइ सुविधाले हाम्रो उत्पादनमा वृद्धि गर्न सहयोग पुगिरहेको छ। यस्तो कार्यक्रम निरन्तर भइरहने हो भने हामी आर्थिक रूपमा अझ बलियो बन्न सक्छौँ,” स्थानीय किसान रामप्रसाद यादवले भने।
किसानहरूले गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र उनकी टिमलाई धन्यवाद दिएका छन्। उनीहरूका अनुसार, गाउँपालिकाको यो कदमले किसानहरूलाई आफ्नो पेसामा आत्मनिर्भर बनाउन प्रेरणा दिएको छ।
त्यसैगरी गाउँपालिकाले कृषिमा आत्मनिर्भरता बढाउन दीर्घकालीन योजना बनाइरहेको छ। सिंचाइका लागि मात्र नभई गुणस्तरीय बीउ-बिजन, मल, र आधुनिक कृषि प्रविधि उपलब्ध गराउने योजना पनि अघि सारेको छ।
गाउँपालिकाका कृषि शाखाका अनुसार, किसानहरूले सिंचाइ सुविधाका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गरेपछि छिट्टै मोटर र बोरिंगको सेवा पाउनेछन्। यसले कृषकहरूलाई समयमै खेती गर्ने मौका दिनेछ।
यसैबीच किसानहरूका लागि आवश्यक पर्ने हरेक सुविधा उपलब्ध गराउन गाउँपालिकाले निरन्तर काम गरिरहेको छ। यसले गाउँपालिकालाई “किसानको साथी” को रूपमा चिनाएको छ।










Discussion about this post