सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाका किसान व्यवसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, र ८ मा व्यवसायिक रुपमा गरिएको बन्दागोभी र काउली खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्न सफल भएका छन्।
भाेक्राहा नरसिंह वडा नं. ६ का किसान मनिष मेहताले बन्दागोभी र काउली खेतीबाट लाखौं रुपैयाँ आम्दानी गरेका छन्। उनले २ बिघा जमिनमा गरेको बन्दागोभी र काउली खेती अहिले जिल्लामै नमुना बनेको छ। “व्यवसायिक खेतीले नाफा मात्र होइन, आत्मनिर्भर बन्ने अवसर पनि दिएको छ,” मेहताले बताए।
यता भोक्राहा नरसिंहका किसानहरूले उत्पादन गरेको तरकारी स्थानीय बजारमा मात्र नभई विराटनगर, धरान, इटहरी, र भारतका सीमावर्ती बजारसम्म निर्यात भइरहेको छ। तरकारी उत्पादनमा लागत कम र नाफा धेरै हुने भएकाले किसानहरूको व्यावसायिक खेतीतर्फ आकर्षण बढेको गाउँपालिकाका कृषि शाखा प्रमुख सकिल अंसारीले जानकारी दिए।
त्यसैगरी गाउँपालिकाले व्यवसायिक खेतीलाई प्रवर्द्धन गर्न प्राविधिक सहयोग, मल बीउ, र सिंचाइ सुविधामा जोड दिएको छ। किसानहरूले स्थानीय सरकारबाट प्राप्त प्राविधिक सहयोगले उत्पादन वृद्धि भएको बताउँछन्। मनिष मेहताले भने, “गाउँपालिकाले दिएको प्राविधिक प्रशिक्षण र अनुदानले खेती व्यवस्थित गर्न सजिलो भएको छ।”
त्यसैगरी व्यवसायिक खेतीबाट राम्रो आम्दानी भए पनि किसानहरूले रोगको समस्या, बजार मूल्यमा उतारचढाव, र भण्डारण सुविधाको अभाव झेल्नुपरेको छ। यसबारे किसान महासंघका अध्यक्षले भने, “स्थानीय सरकारले दीर्घकालीन भण्डारण सुविधा र मूल्य स्थायित्वका लागि पहल गर्न आवश्यक रहेको जनाए ।”
तरकारी खेतीबाट मनिष मेहता जस्तै अन्य किसानहरू पनि आर्थिक रूपमा सबल बन्दै गएका छन्। स्थानीय स्तरमा व्यवसायिक खेतीलाई थप प्रवर्द्धन गर्ने हो भने भोक्राहा नरसिंह गाउँपालिका तरकारी उत्पादनको केन्द्र बन्ने सम्भावना छ।










Discussion about this post