इनरुवा – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित अकाहा चाैकमा चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले साेमबार साँझ विशेष सूचनाका आधारमा गरेको अपरेशनमा १ थान चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय शमशेर आलम भएको जनाएको छ। उनलाई भोक्राहा नरसिंह वडा नं. २ अकाह क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। यस घटनामा संलग्न अर्का व्यक्ति खुर्सित आलम भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार अवैध हतियार राखिएको सूचना पाएपछि उक्त क्षेत्रमा निगरानी बढाइएको थियो। सुरक्षाकर्मीको सक्रियतामा गरिएको अपरेशनका क्रममा आलमलाई हतियारसहित पक्राउ गरिएको हो।
यसअघि पनि सोही गाउँमा ८ महिनाअघि दिउँसै हतियार देखाएको घटना भएकोले स्थानीयले सुरक्षाको स्थिति थप मजबुत बनाउन आग्रह गरेका छन्। उनीहरूले प्रशासनसँग घटनाको पूर्ण छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
पक्राउ परेका शमशेर आलमविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरी स्रोतले घटनाका थप विवरणहरु अनुसन्धानपश्चात् सार्वजनिक गर्ने जानकारी दिएको छ।










Discussion about this post