इनरुवा – सशस्त्र प्रहरीले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ स्थित पाँचोसिमर क्षेत्रबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ३१ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) कप्तानगञ्जको टोलीले नियमित गस्तीका क्रममा उक्त गाँजा नियन्त्रणमा लिएको हो।
यता सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वाटर, सुनसरीका अनुसार गाँजाको तस्करीमा संलग्न व्यक्ति भने पक्राउ पर्न सकेका छैनन्। तस्करहरू प्रहरीले देखेपछि गाँजाको बोरा छोडेर फरार भएका थिए।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध तस्करी रोकथामका लागि विशेष निगरानी अभियान सञ्चालन गर्दै आएको छ। गाँजा बरामद भएको क्षेत्र सिमानामा अवस्थित भएकोले यो स्थान लागुऔषध ओसारपसारका लागि तस्करहरूको प्रमुख मार्ग बन्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी गाँजा तस्करी रोक्न स्थानीयवासीको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ। “स्थानीयवासी सचेत भई सूचना दिनुपर्ने र सशस्त्र प्रहरीको अभियानलाई साथ दिनुपर्ने आवश्यकता छ,” बीओपी कप्तानगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालले बताए।
उनलेे दिएको जानकारीअनुसार बरामद गाँजा र घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि प्रहरी टोलीले घटनामा संलग्नहरूको पहिचान र पक्राउ गर्न प्रयास जारी राखेको छ। बरामद गाँजाको बजार मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान गरिएको छ।
त्यसैगरी नेपाल-भारत खुला सीमा लागुऔषध तस्करीका लागि सहज मार्ग बन्ने गरेको छ। प्रहरीको प्रभावकारी अभियान भए पनि सीमामा पर्याप्त जनशक्ति र स्रोत-साधनको अभावले तस्करी रोक्न चुनौती थपेको कप्तानगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक खनालले बताए ।










Discussion about this post