विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीले पुस १३ गते विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले उनीहरूलाई स्वागत गरेका हुन् ।
न्यायाधीशद्वयले अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा र शिशु स्याहार कक्षलगायत इकाइहरूको निरीक्षण गर्दै प्रहरी प्रणालीमा सुधार र पारदर्शिता आवश्यक रहेको संकेत गरेका छन्। उनीहरूले प्रहरी कार्यालयमा उपलब्ध स्रोतसाधनको विस्तृत जानकारी लिँदै, वृक्षारोपण गरी वातावरण संरक्षणप्रति प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, प्रहरी तालिम केन्द्रका वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गणका उपरीक्षक प्रदीप बहादुर क्षेत्री, र जिल्ला प्रहरी कार्यालय मोरङका उपरीक्षक नारायण प्रसाद चिमरीयालगायतका उच्च र मध्यम स्तरका प्रहरी अधिकारीहरूको उपस्थिति थियो।
यस भ्रमणलाई प्रहरी सेवाको कार्यसम्पादन सुधार गर्ने अवसरका रूपमा हेरिएको छ। न्यायाधीशहरूको प्रत्यक्ष निगरानीले कानूनी प्रणाली र प्रहरी प्रशासनबीच सन्तुलन कायम राख्न मद्दत पुर्याउने अपेक्षा गरिएको जानकारी दिए ।










Discussion about this post