टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित सामुदायिक सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा आयोजित सभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
सभामा वडा नं. ६ का अध्यक्ष बलिराम चौधरी, वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, र वडा नं. ८ का अध्यक्ष दीर्घ बहादुर ठकुल्लासहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सभाका प्रमुख अतिथि रामलाल डगौराले सहकारीले यस क्षेत्रका जनतालाई बैंकिङ सेवाको अनुभूति दिएको बताउँदै टीकापुरमा विकासको गति तीव्र रूपमा अघि बढिरहेको उल्लेख गरे। उनले टीकापुर विमानस्थल सञ्चालनमा आइसकेको र चिसापानीमा केवलकारको सिलान्यास भइसकेकाले यस क्षेत्रका जनताको आर्थिक स्तरमा सुधार आउने विश्वास व्यक्त गरे।
वडा नं. ८ का अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सहकारीले स्थानीय किसानहरूलाई मल बीउलगायतका सामग्री सहुलियत दरमा उपलब्ध गराउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई विस्तार गर्नुपर्ने धारणा राखे। वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले कृषकहरूको जीवनस्तर उकास्ने खालका योजना सहकारीमार्फत अघि बढाउन सुझाव दिए।
त्यसैगरी सहकारीको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार २०५७ साल भदौ १ गते स्थापना भएको सहकारीमा हाल २,२७१ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी १ करोड ७३ लाख ७१ हजार २ सय रहेको छ भने बचत निक्षेप १४ करोड ८२ लाख ९६ हजार २ सय ८२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। सहकारीले १५ करोड ८२ लाख ८६ हजार ९ सय ६१ रुपैयाँ ऋण लगानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा सहकारीले ७३ लाख २३ हजार ४ सय २५ रुपैयाँ मुनाफा गरेको छ।
यता साधारण सभामा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू अनु चौधरी, जगत बहादुर तारामी, र सरस्वती चौधरीलाई नगदसहित सम्मान गरिएको छ। उत्कृष्ट कृषकको रूपमा विश्राम कुश्मी र रामप्रसाद चौधरीलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ। साथै, १२ जना ज्येष्ठ शेयर सदस्यहरूलाई कम्बल र प्रमाणपत्रले सम्मान गरिएको थियो।
सहकारीले शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत १० हजार रुपैयाँ, घातक रोग लागेमा १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। ग्रामीण क्षेत्रमा सहकारीले मल बीउ उपलब्ध गराउनुका साथै रेमिट्यान्स सेवा पनि दिइरहेको छ।
कार्यक्रमका अन्य वक्ताहरूमा सामुदायिक सिकाइ केन्द्रका निवर्तमान अध्यक्ष छविलाल जैशी, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कोईराला, र भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनिराम ढुंगानालगायतको उपस्थिति थियो। सचिव कृत ठकुल्लाले कार्यक्रम सञ्चालन गरेका थिए।










Discussion about this post