उमेश खनाल । विदुर नगरपालिका वडा नं. ९ का किसानले अब सिचाई समस्याबाट राहत पाउने भएका छन्। नगरप्रमुख राजन श्रेष्ठको पहलमा ‘एकीकृत नदी बेसिन सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यक्रम’ अन्तर्गत डिप बोरिङ कार्य सुरु गरिएको छ।
वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा नगरप्रमुख श्रेष्ठ र वडा अध्यक्ष हरेराम भण्डारीको उपस्थितिमा पूजा-आरधनासहित डिप बोरिङ खन्ने कार्य प्रारम्भ गरिएको हो। कार्यक्रमले सिचाई सुविधाको अभावले समस्या झेलिरहेका किसानको खेतीयोग्य उर्वर भूमिमा पानी पुर्याउने लक्ष्य राखेको छ।
डिप बोरिङको काम जारी रहँदा चट्टान नपरेको खण्डमा दुई दिनभित्रै पानीको स्थान पहिचान हुने अनुमान गरिएको छ। यो आर्थिक वर्षभित्रै आवश्यक पाइपलाइन, सिचाई कुलो, रिर्जभ ट्याङ्की लगायतका पूर्वाधार निर्माण गरी किसानका खेतबारीसम्म पानी पु¥याउन नगरप्रमुख श्रेष्ठले निर्देशन दिएका छन्।
जुगेटारमा लिफ्ट सिचाई योजना कार्यान्वयन
यसैगरी, नगरप्रमुख श्रेष्ठले आज विदुर नगरपालिका वडा नं. ९ जुगेटारमा ‘जुगेटार लिफ्ट सिचाई उपभोक्ता समिति’ को आयोजनामा पाइपलाइन विस्तार तथा सिचाई सुविधा सहज बनाउने परियोजनाको अनुगमन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, वडा अध्यक्ष हरेराम भण्डारी लगायतको उपस्थितिमा लिफ्ट सिचाईको प्रगतिका बारेमा छलफल गरिएको थियो। सिचाई परियोजनालाई थप व्यवस्थित गर्न नगरप्रमुख श्रेष्ठले थप सहयोगको प्रतिबद्धता जनाए। उनले सिचाई सुविधा उपयोग गरी कृषि उत्पादन बढाउन र आर्थिक उपार्जनमा टेवा पुर्याउन किसानलाई आग्रह पनि गरे।
किसानको समस्यालाई समाधान गर्दै यस्ता योजनाले कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको वडाध्यक्ष हरेराम भण्डारी बताउँछन्।










Discussion about this post