बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीको समस्या, गुनासो, र सुझाव सुन्न पुनः “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम सुरु गरेको छ। विविध कारणले रोकिएको यो कार्यक्रम थप परिमार्जनपछि पुस २२ गतेबाट पुनः सञ्चालनमा ल्याइएको हो।
साे कार्यक्रममार्फत कोशी प्रदेशका विभिन्न दुर्गम र शहरी क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी आफ्ना पिरमार्का राख्ने मौका पाएका छन्।
कोशी प्रदेशमा हिमाली, पहाडी, र तराई क्षेत्र समेटिएका कारण दुर्गम स्थानका प्रहरी कर्मचारीहरूले आफ्ना समस्या प्रदेश प्रमुखसमक्ष राख्न कठिनाइ भोग्दै आएका थिए। यही समस्यालाई समाधान गर्न, प्रत्यक्ष भेटघाटको विकल्पस्वरूप टेलिफोन संवादलाई प्राथमिकता दिइएको हो। कार्यक्रमले दुर्गम क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई समस्या समाधानका लागि थप हौसला दिने जानकारी दिएको छ।
संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार नियमित रूपमा सञ्चालन हुनेछ। कार्यक्रमको उद्देश्य प्रहरी संगठनभित्रको संवाद प्रक्रियालाई सशक्त बनाउँदै कर्मचारीहरूको मनोबल उच्च राख्नु हो।
कार्यक्रमलाई प्रभावकारी बनाउँदै आगामी दिनमा प्रहरी कर्मचारीका गुनासोलाई छिटो र प्रभावकारी रूपमा समाधान गर्ने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।










Discussion about this post