विर्तामोड । झापा जिल्ला अदालतले सोमबार विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार, जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले उक्त आदेश जारी गरेको हो। आदेश अनुसार, शिवाकोटीलाई सोमबार नै झापा कारागारमा पठाइएको छ।
१५ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर २४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनलाई उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। “प्रहरीको अनुसन्धान समाप्त भएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो,” बस्नेतले भने।
अदालतमा भएको थुनछेकको बहसपछि, शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरिएको हो। प्रहरीले पेस गरेको अभियोगपत्रमा उनलाई १२ वर्षसम्मको कैद सजायको माग गरिएको छ। यो मुद्दाको सुनुवाई अदालतको बन्द इजलाशमा भएको जानकारी प्राप्त भएको छ।










Discussion about this post