इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले स्वास्थ्य सेवामा सुधार गर्न २५ लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको विशेष पहलमा प्राप्त स्वास्थ्य सामग्रीले ग्रामीण स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने बताएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीमा ग्रामीण भिडियो एक्स-रे, स्वचालित भिडियो एक्स-रे (आओयु एसजी), डेलिभरी बेड, मेडिसिन ट्रलीलगायतका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन्।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख हिरालाल साहका अनुसार, यी सामग्रीहरू गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह र ६ वटा आधारभूत स्वास्थ्य केन्द्रमा प्रयोग गरिनेछन्। गर्भवती महिलाका लागि लक्षित गरी प्रत्येक हप्ता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने योजना रहेको साहले जानकारी दिए।
“गर्भवती महिलाहरूलाई सुरक्षित मातृत्व सुनिश्चित गर्न यो सामग्रीले ठूलो सहयोग पुर्याउनेछ,” साहले भने। यसले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि धरान, इटहरी, इनरुवा र विराटनगर लगायतका टाढा जानुपर्ने बाध्यता कम गर्ने जानकारी दिएको छ।
साे कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले स्वास्थ्य सामग्री हस्तान्तरणलाई ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सुधार गर्न महत्त्वपूर्ण उपलब्धि रहेको बताए। “गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सहज हने जानकारी दिए ।
उनका अनुसार, गाउँपालिकाले जनताका प्राथमिक आवश्यकता बुझेर यस्ता पहल गरेकाे हो। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यो क्षेत्रमा विशेष प्राथमिकता दिइएको उनले बताए।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्वास्थ्य सेवामा दीर्घकालीन सुधारका लागि आफूले सधैं पहल गर्दै आएको बताए। “नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको एउटा हिस्सा हो। मन्त्रालयसँगको सहकार्यबाट हामीले अत्याधुनिक सामग्री गाउँपालिकामा ल्याउन सकेका छौं,” उनले भने।
अध्यक्ष आजादले यसअघि पनि विभिन्न स्वास्थ्य सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता दुवै बढाउने उनले बताए।
“गाउँमै यस्तो आधुनिक स्वास्थ्य सेवा पाउनु ठूलो उपलब्धि हो। अब हाम्रो पालिकाकी गर्भवती महिला र बालबालिकाको स्वास्थ्यलाई सुरक्षित बनाउन सहयोग गर्नेछ,” स्थानीय एक बासिन्दा सुमित्रा यादवले भनिन्।
भाेक्राहा नरसिंह गाउँपालिकाले आगामी दिनमा डिजिटल स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, र विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। यसले स्वास्थ्य सेवा सुधारमा अझ योगदान दिने बताएको छ।










Discussion about this post