दिपेन्द्र यादव/इनरुवा – सीमावर्ती क्षेत्रका नागरिकहरूको स्वास्थ्यमा पहुँच वृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नम्बर ४ गण हेड क्वाटर, सुनसरीको आयोजनामा भाेक्राहा नरसिंह गाउँपालिका–२, अकाहास्थित आधारभूत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरमा करिब ४ सय जनाले स्वास्थ्य जाँच र परामर्श सेवा लिएका छन्।
भाेक्राहा नरसिंह गाउँपालिकाको कार्यालय, चिराैलीको समन्वयमा सञ्चालन भएको शिविर सप्तकोशी न्युरो अस्पताल, भाेक्राहा नरसिंह–४ र रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको सहआयोजनामा सम्पन्न भएको हो। शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य समस्या समाधान, आँखा जाँच, न्युरोसम्बन्धी परामर्श, र औषधि वितरणसम्बन्धी सेवा प्राप्त गरेका थिए।शिविरमा नवआगन्तुक जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रस्तावित गुल्म भन्टावारीका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेल, बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमलगायतका सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सेमानन्द बज्राचार्यले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जानकारी दिए। उनले सीमावर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउन सशस्त्र प्रहरी बलले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी सशस्त्र प्रहरी बल, स्थानीय सरकार, र स्वास्थ्य संस्थाबीचको सहकार्यमा सम्पन्न कार्यक्रमले सुरक्षा निकाय, सरकारी र गैरसरकारी निकायहरूबीचको सहकार्यको प्रभावकारिता देखाएको छ। शिविरले स्थानीय नागरिकहरूको स्वास्थ्य अवस्थाप्रति चासो र सचेतना बढाउन योगदान गरेको आयोजकहरूले बताए।
शिविरमा बालबालिका, वृद्धवृद्धा, र महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।यता आयोजकले आगामी दिनमा पनि यस्तै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकहरूको स्वास्थ्य अवस्था सुधार गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post