दिपेन्द्र यादव/इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहकाे भूमिकाबारे कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको समन्वयमा आज आयोजित उक्त कार्यक्रम आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काको अध्यक्षता र भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्य रहेको थियो।
भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहको भूमिका निर्णायक कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउँदै नागरिक सहभागिता आवश्यक रहेको उल्लेख गरे। “स्रोत र साधनको सही उपयोग गर्दै पारदर्शी सेवा प्रवाह गर्नु स्थानीय तहको प्रमुख जिम्मेवारी हो,” “स्थानीय तहलाई उत्तरदायी बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न नागरिक सहभागिता बढाउनु अत्यावश्यक रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले गाउँपालिकाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न विशेष ध्यान दिएको बताइन्।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जनप्रतिनिधि र कर्मचारीहरूले कानुन पालना गर्दै काम गर्नुपर्नेमा जोड दिए। “पारदर्शिता कायम राख्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैले उत्तरदायित्वपूर्वक काम गर्नुपर्छ,” उनले भने।
यता कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ५ का वडाध्यक्ष हबिब मंसुरी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुदिन अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव र वडा नम्बर ८ का वडाध्यक्ष उस्मान अंसारी (भाेला हाजी) लगायतले भ्रष्टाचारमुक्त गाउँपालिका निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष खगेन्द्र बहादुर खड्काले भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहमा निगरानी प्रणाली प्रभावकारी बनाउन अख्तियारले सहकार्य गर्न सधैं तयार रहेको बताए। “स्थानीय तहले सुशासन कायम राख्न सबै पक्षलाई जवाफदेही बनाउनु जरुरी छ,” उनले भने। कार्यक्रममा स्थानीय पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।










Discussion about this post