इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले माघे संक्रान्ति र माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गाउँबासी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा अध्यक्ष आजादले नेपालका विभिन्न जातजातिले आ-आफ्नै परम्पराअनुसार मनाउँदै आएको माघे संक्रान्ति र माघी पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब झल्काउने बताएका छन्। उनले थारू समुदायको माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन, मगर समुदायमा तीर हान्ने परम्परा, तथा तराईवासीको ‘नहान’ पर्वको महत्त्वलाई उल्लेख गर्दै यी परम्पराहरूले नेपालको सांस्कृतिक धरोहरलाई समृद्ध बनाएको धारणा व्यक्त गरेका छन्।
उनले भनेका छन्, “माघे संक्रान्ति केवल चाडपर्व मात्र होइन, प्रकृति र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजलाई प्रकृतिसँग नजिक राख्दै सभ्यता र वातावरण संरक्षणको संदेश दिन्छ। यस्ता पर्वले समुदायलाई एकताबद्ध गर्न र राष्ट्रिय पहिचान निर्माण गर्न ठूलो भूमिका खेल्छन्।”
गाउँपालिकाको नेतृत्व सम्हालेपछि अध्यक्ष आजादले हरेक धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबीच मेलमिलाप, सद्भाव र सहिष्णुताको भावनालाई विभिन्न माध्यमबाट जाेड्न प्राथमिकता दिएका छन्। उनले गाउँपालिकामा रहेका सम्पूर्ण धार्मिक समुदायको चाडपर्वमा सहभागी हुँदै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै आएका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता हाम्रो गौरव हो। यस्ता पर्वहरूले आपसी सद्भाव र सहिष्णुतालाई अझै बलियो बनाउन मद्दत गर्दछ। धर्मनिरपेक्षताको सिद्धान्तलाई आत्मसात् गर्दै हामीले सहअस्तित्वको भावना अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ।”
यता माघे संक्रान्ति र माघी पर्वको अवसरमा अध्यक्ष आजादले प्रकृति र संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्दै हरेक चाडपर्वलाई वातावरणमैत्री रूपमा मनाउन आग्रह गरेका छन्। साथै, उनले सबै समुदायलाई सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणमा एकताबद्ध भई हातेमालो गर्न विशेष आह्वान गरेका छन्।
अध्यक्ष आजादको नेतृत्वमा गाउँपालिकाले विविध धर्म, संस्कृति र समुदायको सम्मानलाई सदैव उच्च प्राथमिकता दिँदै आएको छ। यसपटकको माघे संक्रान्ति र माघी पर्वको शुभकामना सन्देशले पनि राष्ट्रिय एकता, सांस्कृतिक विविधता र सामुदायिक सहिष्णुताको महत्वलाई अझ सशक्त बनाएको छ।










Discussion about this post