इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ सिसवनीस्थित पवित्र नरसिंहनाथ सामुदायिक वन र ऐतिहासिक नरसिंह महादेव बाबाको प्रांगणमा मकर संक्रान्तिको अवसरमा तीन दिने मेला तथा कुस्ती महोत्सव सुरु भएको छ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस स्थानमा आयोजित महोत्सवले क्षेत्रको पहिचानलाई एकताबद्ध गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ। यादव सेवा समिति नरसिंह ७ का अध्यक्ष मुकेश यादवले महोत्सवले समुदायमा सहकार्य र एकताको सन्देश प्रवाह गरेको बताए।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा मेलाका अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, र सचिव रामरूप यादवले अतिथिहरूलाई खादा र मालाले सम्मान गरेका थिए।
कुस्ती महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नरसिंह महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाको पूर्ण सहयोग रहने बताए। उनले भने, “धार्मिक सम्पदाहरू हाम्रो आस्था र पहिचानका आधार हुन्। यी सम्पदाको संरक्षण र प्रवर्द्धन हाम्रो कर्तव्य हो।”
अध्यक्ष आजादले यसअघि मन्दिर क्षेत्रको विकासका लागि १० लाख रुपैयाँको लागतमा विद्युत प्राधिकरण इनरुवा शाखासँग समन्वय गरी पोलवत्ती जडान र ८ लाख रुपैयाँको लागतमा दर्शनार्थी प्रतिक्षालय निर्माण गरिसकेको जानकारी दिए। उनले मकर संक्रान्तिको अवसरमा आयोजित यो महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष आजादका अनुसार, “धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न सके, यस क्षेत्रलाई आर्थिक रूपले समृद्ध बनाउन सकिन्छ।”
यता मेलामा परम्परागत नाचगान, कुस्ती प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिएको छ। महोत्सवले स्थानीय परम्परा, संस्कृति, र खेलकुदलाई जगेर्ना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सचिव रामरूप यादवले बताए।
उता कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बौवालाल यादव, कार्यपालिका सदस्यीय धर्मनाथ भगत, रामेश्वर खत्वे, तत्कालीन नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव र उपाध्यक्ष सत्रुधन यादव, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, र शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख कृष्ण विष्टको उपस्थिति रहेको थियो।
महोत्सवको व्यवस्थापनमा स्थानीय युवाहरू, महिला समूहहरू, र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको आयोजकहरूले बताएका छन्। मेलाले धार्मिक र सांस्कृतिक महत्त्वलाई संरक्षण गर्दै समुदायमा सहकार्य र मेलमिलापको सन्देश प्रवाह गरेको छ।
त्यसैगरी तीन दिनसम्म सञ्चालन हुने महोत्सवले धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम र प्रतिस्पर्धात्मक खेलकुदमार्फत स्थानीय र बाह्य आगन्तुकहरूलाई आकर्षित गरेको छ। आयोजकहरूले महोत्सवलाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन्।










Discussion about this post