दिपेन्द्र यादव/इनरुवा – आगामी काेशी प्रिमियर लिग (KPL) को दोस्रो संस्करणको तयारी भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित डाक्टर खलिल आजाद क्रिकेट ग्राउन्डमा तीव्रताका साथ अघि बढिरहेको छ। यस संदर्भमा हिजो शुक्रबार आयोजक टोलीले भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेसँग बैठक गरी आवश्यक सहयोगका बारेमा छलफल गरेका छन्।
आयोजक टोलीले KPL को दोस्रो संस्करणको तयारी र व्यवस्थापनका लागि गाउँपालिकाबाट आवश्यक सहयोगको बारेमा विस्तृत चर्चा गरेको बताइएको छ। अध्यक्ष आजाद र प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आयोजकलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष आजादले KPL जस्तो महत्त्वपूर्ण खेलकुद प्रतियोगिता गाउँपालिकामा आयोजना हुनु स्थानीय खेलकुदको प्रवर्द्धन र युवापुस्तामा खेलप्रतिको आकर्षण बढाउनेमा सहायक हुने विश्वास व्यक्त गरे। उनले आगामी प्रतियोगिताले गाउँपालिकामा खेलकुदको स्तर उच्च बनाउने र नयाँ प्रतिभाहरूलाई उचाइमा पुर्याउने अवसर दिने बताए।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले पनि प्रतियोगिताको सफलताका लागि गाउँपालिकाको तर्फबाट सबै प्रकारको सहयोग सुनिश्चित गर्ने आश्वासन दिएका छन्।
आयोजक टोलीले प्रतिस्पर्धा सुचारु र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि थप तयारीलाई प्राथमिकतामा राखेको जानकारी दिँदै प्रतियोगितामा भाग लिने खेलाडी र दर्शकहरूलाई राम्रो सुविधा र सुरक्षा प्रदान गर्नका लागि आवश्यक कदम चाल्ने तयारी गरेको जनाएको छ।
KPL को दोस्रो संस्करणको मिति र अन्य थप जानकारी छिट्टै सार्वजनिक गरिने आयोजक टोलीले जानकारी दिएको छ।










Discussion about this post