इनरुवा । भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अशक्त तथा जेष्ठ नागरिकको समस्यालाई तत्काल सम्बोधन गर्दै सामाजिक सुरक्षा भुक्तानी दिलाएका छन्।
गाउँपालिका वडा नम्बर ६ निवासी अशक्त तथा जेष्ठ नागरिक मोहम्मद मियाँलाई उनकाे सामाजिक सुरक्षा भत्ता लिन समस्या भइरहेको देखेर अध्यक्ष आजादले तत्काल पहल गरेका हुन्।
बिहीबार दिउँसो, एक बालकले ठेला रिक्शामा मियाँलाई बैंकतर्फ ल्याउँदै गरेको दृश्य अध्यक्ष आजादले देखेपछि उनी तत्काल घटनास्थल पुगे। त्यहाँ पुग्दा मियाँ असक्त अवस्थामा ठेला रिक्शामा सुतिरहेका थिए। यस्तो अवस्थामा पनि उनले बैंकसम्म आउनुपर्ने बाध्यता देखेपछि अध्यक्ष आजादले तत्काल बैंक व्यवस्थापनसँग समन्वय गरे।
अध्यक्ष आजादले लक्ष्मी सनराइज बैंकका शाखा प्रबन्धकलाई बोलाएर मियाँको बैंकिङ प्रक्रिया छिटोछरितो गरिदिन आग्रह गरे। बैंक व्यवस्थापनसँग समन्वय गर्दै अध्यक्ष आजादले सुरक्षागार्डमार्फत मियाँको चेकबुकमा हस्ताक्षर गराएपछि तत्कालै सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गरिएको थियो।
यता गाउँपालिकाका वृद्ध तथा असक्त नागरिकहरूका लागि बैंकिङ सेवा सहज बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने माग पुनः उठेको छ। अध्यक्ष आजादले पनि आगामी दिनमा वृद्ध, असक्त, तथा अशक्त नागरिकहरूको सामाजिक सुरक्षा भुक्तानी सहज बनाउने प्रतिबद्धता जनाएका छन्।
स्थानीय बासिन्दाहरूले अध्यक्ष आजादको यो सह्रानीय कार्यको प्रशंसा गरेका छन्। “पालिका अध्यक्षले अशक्त नागरिकको समस्या देखेर तुरुन्तै समाधान गरिदिनु अत्यन्त राम्रो पहल हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
गाउँपालिकाले आगामी दिनमा बैंक तथा अन्य वित्तीय संस्थासँग समन्वय गरी अशक्त नागरिकहरूका लागि घरमै भत्ता पुर्याउने व्यवस्था गर्न आवश्यक रहेको सुझाव समेत आएको छ।










Discussion about this post