काठमाडौं । जिल्ला अदालत कपिलवस्तुमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन्।
विशेष अदालतको आदेशअनुसार मिश्रलाई दुई महिनाको कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, पाण्डेलाई एक महिनाको कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरूले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेको र लिएको ठहर गरेको छ। मुद्दासँग जोडिएको प्रमाणका रूपमा घुस लिएको रकम बरामद हुनुका साथै अडियो र भिडियो प्रमाणसमेत पेश गरिएको थियो।
स्रेस्तेदार मिश्रले सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउनका लागि घुस मागेको आरोप लागेको थियो। सेवाग्राहीबाट सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निगरानी गर्दै प्रमाणसहित मिश्र र पाण्डेलाई नियन्त्रणमा लिएको थियो।










Discussion about this post