इटहरी – पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारको शृङ्खला बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उल्लेख गरेको छ। साना योजना तथा कार्यक्रमहरूमा समेत भ्रष्टाचारका उजुरीहरू दर्ता हुन थालेका छन् भने भ्रष्टाचार गर्ने तरिका पनि परिष्कृत हुँदै गएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा इटहरीमा आयोजित कार्यक्रममा स्थानीय तहमा बढ्दै गएको भ्रष्टाचार र यसको बदलिँदो प्रवृत्तिबारे जानकारी दिइएको थियो। आयोगको इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेका अनुसार पहिले भौतिक पूर्वाधार तथा विकास निर्माणका परियोजनाहरूमा बढी भ्रष्टाचार हुने गर्थ्यो, तर हाल सफ्टवेयर खरिद, डिपिआर निर्माण, उपभोक्ता समितिको योजना, शैक्षिक सामग्री खरिद, र स्वास्थ्य उपकरण खरिदजस्ता क्षेत्रमा भ्रष्टाचारको दर उच्च देखिएको छ।
उनका अनुसार अख्तियारमा आउने उजुरीहरूको करिब ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित शिक्षा र स्वास्थ्य क्षेत्रका हुने गरेका छन्। यी क्षेत्रमा अनियमितता र पारदर्शिताको अभाव देखिएको उनले उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सुशासन प्रवर्द्धन गर्न स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले अख्तियारकै कार्यशैलीप्रति शङ्का व्यक्त गर्दै स्वतन्त्र अनुसन्धानमा संशय रहेको धारणा व्यक्त गरे। उनका अनुसार अख्तियारको आन्तरिक संरचनामा समेत भागबन्डाको प्रभाव देखिन्छ, जसले निष्पक्ष अनुसन्धान प्रभावित हुन सक्छ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय सरकारहरूलाई थप जवाफदेही बनाउनुपर्ने तथा पारदर्शी प्रशासनिक प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका थिए।










Discussion about this post