सुनसरी – कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको पाइएको हो।
आरक्ष कार्यालयका अनुसार गत पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर बर्ड सेन्सस २०२५’ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्ष र कोशी नदी आसपासमा गरिएको सर्वेक्षणमा ७६ प्रजातिका ९,२५० चरा फेला परेका छन्। अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या निकै उच्च हो। गत वर्ष ५३ प्रजातिका मात्र ५,५२७ चरा गणनामा परेका थिए।
यस वर्षको गणनाका क्रममा सबैभन्दा धेरै चखेवा जातका १,०६८ चरा फेला परेका छन्। त्यस्तै, सबैभन्दा कम सङ्ख्यामा सेतो कण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके जातका चरा मात्र एउटा-एउटा फेला परेका छन्। आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार यो गणना १९८७ देखि नियमित रूपमा हुँदै आएको हो, जसले जलपक्षीको प्रजाति, सङ्ख्या र तिनको बासस्थानमा देखिएको परिवर्तनबारे विस्तृत अभिलेख राख्ने उद्देश्य राख्छ।
जलपक्षीको वृद्धि र संरक्षणको प्रभाव
विशेषज्ञहरूका अनुसार चराको बृद्धिमा कोशीटप्पु क्षेत्रमा सुरक्षित बासस्थान, पर्याप्त आहारा र सिमसार संरक्षणको महत्वपूर्ण भूमिका रहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार मानव चहलपहल कम गर्दा आगन्तुक चराको सङ्ख्या अझ वृद्धि हुनसक्छ।
गौतमका अनुसार असोजदेखि अन्यत्रबाट आउने पर्यटक चरा पुससम्म रहन्छन् र चैत लागेसँगै पुनः आफ्नो मूल स्थानमा फर्किन्छन्। चराको बासस्थानका रूपमा कोशीटप्पु मात्र नभई चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी र नारायणी नदी क्षेत्र पनि महत्वपूर्ण छन्।
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षलाई ‘चराको राजधानी’ का रूपमा परिचित गराइएको छ। आरक्षमा करिब ५० प्रजातिका बटुवा चराहरू रहने गरेका छन्।
चरासँगै पर्यावरणीय सन्तुलनको महत्व
विशेषज्ञहरूका अनुसार चराको वृद्धि जैविक विविधताको लागि सकारात्मक संकेत हो। जलपक्षीहरू प्राकृतिक वातावरणको सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। चराले सिमसारमा भएका किरा, कीटाणु तथा अन्य साना जीवजन्तु नियन्त्रण गर्न मद्दत गर्छन्, जसले जैविक सन्तुलन कायम राख्छ।
तर, संरक्षणका विभिन्न चुनौतीहरू पनि रहेका छन्। मानव अतिक्रमण, जलवायु परिवर्तन, अव्यवस्थित पर्यटन र जलप्रदूषण जस्ता समस्याले चराको बासस्थानलाई असर पुर्याउने जोखिम रहन्छ। यदि कोशीटप्पु क्षेत्र र अन्य सिमसारहरूको उचित व्यवस्थापन गरिएन भने आगन्तुक चराको सङ्ख्या पुनः घट्न सक्छ।
संरक्षणविद्हरूका अनुसार सरकार र स्थानीय समुदाय मिलेर चराको बासस्थानलाई सुरक्षित बनाउनतर्फ अझ बढी ध्यान दिन आवश्यक छ। विशेष गरी कोशीटप्पु जस्ता क्षेत्रमा हुने चराको गणना, अनुसन्धान र निगरानीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ।
यता यस वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सुखद पक्ष हो। सुरक्षित बासस्थान, आहार्य उपलब्धता र संरक्षणका कारण चराहरूको आगमन बढेको देखिन्छ। तथापि, दीर्घकालीन संरक्षणका लागि मानव अतिक्रमण नियन्त्रण, जलस्रोतको संरक्षण र पर्यावरणीय व्यवस्थापनलाई प्राथमिकता दिन आवश्यक देखिन्छ। यदि उचित संरक्षण गरियो भने कोशीटप्पु क्षेत्र नेपालको प्रमुख चरासम्बन्धी पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्न सकिन्छ।










Discussion about this post