सुनसरी – नेपाल निजामती कर्मचारी युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशन दुई पक्षीय विवादका कारण माघ २६ गते स्थगित भएको थियो। अधिवेशनको प्रक्रियामा असहमति जनाउँदै एक समूहले श्यामकिशोर मण्डलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति घोषणा गरिसकेको छ।
तर, युनियनका आधिकारिक प्रतिनिधि तथा सदस्यहरूको भेलाले हिरालाल साहको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक गरेको छ।
युनियनका सदस्यहरूका अनुसार केन्द्रीय कार्यसमितिको उपस्थितिमा नवौँ जिल्ला अधिवेशन सम्पन्न गर्दै हिरालाल साह नेतृत्वको कार्यसमितिलाई केन्द्रीय मान्यता दिने निर्णय गरिएको छ।
नवगठित कार्यसमितिमा अध्यक्षमा हिरालाल साह, उपाध्यक्षहरूमा सन्दिप सुवेदी, मिस्ता कोईराला, श्रीती कुमारी मेहता, सचिव उमेश राई, सह-सचिव सन्तोष अधिकारी, र कोषाध्यक्ष मोहम्मद कैयुम अन्सारी लगायतका रहेका छन्।
यसअघि स्थगित अधिवेशनपछि श्यामकिशोर मण्डल पक्षले अलग कार्यसमिति घोषणा गरिसकेको थियो, जसले दुई पक्षबीचको विवादलाई चर्काएको देखिन्छ। तर, हिरालाल साह पक्षले केन्द्रीय नेतृत्वकै अनुमोदनसहित अधिवेशन सम्पन्न भएको दाबी गरेको छ।
यस विषयमा युनियनको केन्द्रीय कार्यसमितिले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ। तर, हिरालाल साह पक्षका समर्थकहरूले केन्द्रीय मान्यता आफ्नो पक्षमा रहने दाबी गरिरहेका छन्। अर्कोतर्फ, श्यामकिशोर मण्डल नेतृत्वको समूहले स्वतन्त्र रूपमा आफ्ना गतिविधि सञ्चालन गर्ने संकेत देखिएको छ।
युनियनभित्र देखिएको आन्तरिक विवादले आगामी गतिविधिमा प्रभाव पार्ने सम्भावना रहेको छ। अब केन्द्रीय नेतृत्वको निर्णयपछि मात्र कसको कार्यसमिति औपचारिक रूपमा वैध हुने भन्ने स्पष्ट हुनेछ।










Discussion about this post