दिपेन्द्र यादव/ सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौलीस्थित शिव मन्दिरमा शिव महादेवको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा महोत्सव अन्तर्गत आज शुक्रबार बिहान ११:०० बजे भव्य कलश यात्रा सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा आयोजित कलश यात्रामा गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय भक्तजन तथा महिला समूहको उल्लेखनीय सहभागिता रहेको थियो। परम्परागत बाजागाजा तथा धार्मिक भजनकीर्तनसहितको कलश यात्राले चिरौली क्षेत्रलाई भक्तिमय बनाएको थियो।
कलश यात्रा शिव मन्दिर परिसरबाट सुरु भई गाउँका विभिन्न भाग परिक्रमा गर्दै पुनः मन्दिरमै समापन गरिएको थियो। श्रद्धालुहरूले जलकलश बोकेर भक्ति भावपूर्वक यात्रा सम्पन्न गरेका थिए। महिलाहरू परम्परागत वेशभूषामा सजिएर, हातमा कलश बोकेर पंक्तिबद्ध रूपमा सहभागी भएका थिए।
परिक्रमा क्रममा गाउँमा धार्मिक गीतहरू गाइँदै, शिव महादेवको जयकारा लगाउँदै भक्तजनहरूले वातावरणलाई भक्तिमय बनाएका थिए। स्थानीय बासिन्दाहरूले कलश यात्राका सहभागीहरूको स्वागत गर्दै फूल तथा अक्षता प्रदान गरेका थिए।
त्यसैगरी शिव महादेवको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा महोत्सवलाई भव्य बनाउन स्थानीय श्रद्धालुहरूले व्यापक सहयोग गरेका छन्। धार्मिक महोत्सवलाई सफल बनाउन गाउँपालिकाका विभिन्न संघसंस्थाहरू, युवाहरू तथा समाजसेवीहरूले विशेष योगदान पुर्याएका छन्।
यसैबीच, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले सबै भक्तजनहरूलाई महोत्सवका कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्। समितिका अध्यक्षका अनुसार मूर्ति स्थापना मात्र नभई, धार्मिक सद्भाव र सांस्कृतिक जगेर्ना नै महोत्सवको मुख्य उद्देश्य हो।
शिव मन्दिर व्यवस्थापन समितिले महोत्सवकै क्रममा विभिन्न धार्मिक अनुष्ठान, हवन, विशेष पूजा तथा प्रवचन कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ। आयोजकका अनुसार, महोत्सवको मुख्य दिन विशेष वैदिक मन्त्रोच्चारणसहित शिव महादेवको मूर्तिको प्राण प्रतिष्ठा गरिनेछ।
मुर्ति स्थापनाकाे अवसरमा शिव पुराण कथा वाचन, भजन संध्या तथा महाप्रसाद वितरण कार्यक्रम पनि आयोजना गरिनेछ। स्थानीय श्रद्धालुहरूले यस महोत्सवलाई ऐतिहासिक बनाउने लक्ष्यसहित पूर्ण समर्पणका साथ सहभागिता जनाइरहेको आयोजक समितिले जनाएको छ।
कलश यात्रा महोत्सवको भव्यताले स्थानीय समुदायमा धार्मिक उत्साह थपेको छ। श्रद्धालुहरूको सहभागिता तथा व्यापक जनसहयोगका कारण यो महोत्सव चिरौली क्षेत्रको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले शिव महोत्सवजस्ता धार्मिक गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने भएकाले सबैलाई एकताबद्ध हुन आह्वान गरे। उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न स्थानीय प्रशासन सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post