दिपेन्द्र यादव/इनरुवा– सुनसरीमा यही फागुन ५ गतेदेखि सुरु हुने दोस्रो कोशी प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। भोक्राहा नरसिंह गाउँपालिकास्थित खालिल आजाद खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। आयोजक टोलीले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका सबै तयारीबारे जानकारी गराएको हो।
नेपाल क्रिकेट संघको स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोशी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टद्वारा आयोजित यस प्रतियोगितामा सात टोली सहभागी हुनेछन्। सिंगल राउन्ड रोबिन आधारमा खेलाइने उक्त लिगका २२ खेल हुनेछन्। शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका विजेताले ५ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ३ लाख ३ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक तथा सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले जानकारी दिए।
साथै, सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टूर्नामेन्ट) ले २५ हजार रुपैयाँ र प्रत्येक प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको आयाेजकले जानकारी दिएको छ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगितामा नेपालका चर्चित खेलाडीहरूको सहभागिता रहनेछ। सहभागी सात टोलीका प्रमुख खेलाडीहरू निम्नानुसार छन् ।
पूर्वेली सुपर किंग्स: ललित राजबंशी, सन्दीप जोरा, अर्जुन साउद , नमुना ब्लास्टर: कुशल भुर्तेल, कुशल मल्ल, नन्दन यादव, दुहबी क्यापिटल्स: लोकेश बम, विनोद भण्डारी, विवेक यादव, शाहब आलम, बसिर अहमद, सप्तरी टाइगर्स: मयन यादव, रुपेश सिंह, शुभ कंसाकार, नरेन साउद, विपिन खत्री, एनबीएससी लायन्स: दिलीप नाथ, कृतिक कामत, नीरज मुखिया, इटहरी आदर्श जायन्ट्स: गुलसन झा, आसिफ शेख, भीम सार्की, दीपेश कँडेल, रिजन कँडेल र भोक्राहा नरसिंह अर्नाज: अंकित सुवेदी, सुजन थपलिया, भुवन कार्की, हेमन्त धामी लगायतका खेलाडीहरूकाे सहभागीता रह्ने आयाेजककाे कथन छ ।
प्रतियोगिताको सफल आयोजनाका लागि भोक्राहा नरसिंह गाउँपालिकाले पनि सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै भने,
“कोशी प्रिमियर लिग स्थानीय खेलाडीहरूका लागि उत्कृष्ट प्लेटफर्म बनेको छ। यस प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न योगदान पुर्याउनेछ। स्थानीय सरकार खेलकुद प्रवर्द्धन गर्न प्रतिबद्ध छ।”
क्रिकेट प्रेमीहरूको उत्साहलाई ध्यानमा राख्दै दोस्रो कोशी प्रिमियर लिग क्रिकेट भव्य रूपमा सम्पन्न गर्ने योजना रहेको आयोजक टोलीले जनाएको छ। प्रतियोगिताले न केवल खेलकुदको प्रवर्द्धन गर्नेछ, तर स्थानीय स्तरमा खेलाडीहरूको उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।










Discussion about this post