दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कोशी प्रिमियर लिग (KPL-2) दोस्रो चरणको क्रिकेट खेल सुरु भएको छ। आज फागुन ५ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगिता डाक्टर खलिल आजाद खेलकुद ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा भइरहेको छ। उद्घाटन खेलमा दुहबी क्यापिटल्सले नमुना ब्लास्टर इटहरीलाई १४५ रनको लक्ष्य दिएको छ।
कोशी प्रिमियर लिग दोस्रो संस्करणको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षता तथा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रदेशसभा सदस्य इस्राइल मंसुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतका जनप्रतिनिधि, समाजसेवी, पत्रकार, खेलप्रेमी तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मण्डलले कोशी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “कोशी प्रदेशको खेलकुद स्तर उकास्न प्रदेश सरकारले आवश्यक लगानी गर्नेछ। स्थानीय स्तरमा यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास लिएका छौँ।”
कार्यक्रमका अध्यक्ष तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कोशी प्रिमियर लिग जस्ता प्रतियोगिताले युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने बताए। उनले भने, “हाम्रो गाउँपालिकाले खेलकुदको प्रवर्द्धन गर्दै स्थानीय खेलाडीलाई अवसर दिने नीति लिएको छ। आगामी दिनमा अझ व्यवस्थित क्रिकेट मैदान निर्माण गर्न पहल गरिनेछ।”
उद्घाटन खेलमा दुहबीको उत्कृष्ट प्रदर्शन
सोमबार भएको पहिलो खेलमा दुहबी क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै नमुना ब्लास्टर इटहरीलाई १४५ रनको लक्ष्य दिएको छ। दुहबीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रन बनायो। दुहबीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा बलियो सुरुवात गरेका छन्।
कोशी प्रिमियर लिग दोस्रो संस्करणमा विभिन्न जिल्लाका उत्कृष्ट क्रिकेट टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिका कारण प्रतियोगिता अझ रोमाञ्चक बन्ने आयोजकले विश्वास लिएको छ। आगामी दिनमा थप प्रतिस्पर्धात्मक खेलहरू हुने आयाेजकले बताएको छ।










Discussion about this post